मेरो अनुहार हेर्ने बिभेदकारी समाज

दुर्गाकुमारी खड्का २० पुष २०७८, मंगलवार १३:३१
 


दुर्गाकुमारी खड्का

म जन्मिदा मेरा आमा बुवा साह्रै खुशी हुनु भएको थियो रे । सायद सबैलाई यस्तै खुशी मिल्छ होला घरमा लक्ष्मी स्वरुपकी छोरी जन्मिदा म जन्मे पछि घरमा पनि राम्रो हुदै गएको थियो रे ! मध्यम वर्गिय परिवारमा जन्मिएकी म सामान्य रुपमै जीवन चलिराथ्यो, जब मैले म कस्तो छु भनेर महशुस गर्ने बेला भयो त्यो बेला म फक्रेको गुलाबको कोपिला जस्तो सर्लक्क परेकी अग्ली, मिलेको जिउँडाल, हसिलो गोरो अनुहार, टम्म मिलेका दात, लामो कपाल भएकी १४ वर्षकी किशोरी थिए । मेरो गाँउ र म पढ्ने स्कुलमा अनुशासीत राम्री केटीको सुचीमा म पनि पर्थे, पढाइमा पनि अब्बल नै थिए । मिजासिलो स्वभावकी म सबैसंग मिल्ने भएर होला सबैले माया गर्नुहुन्थ्यो । १५ वर्ष पुग्दै गर्दा एसएलसी सकियो, अहिलेको जस्तो समय थिएन त्यो बेला भर्खर संकटकाल सकिएको बाहिर गएर बस्न पढ्न डर लाग्ने अवस्था थिए, गाउँमै थिए कसैको वहकाउमा लागेर अल्लारेसंग भागी बिहे गरे, न उमेर पुगेको, न त आत्मनिर्भर जीन्दगी सोचे जस्तो नहुने रैछ जीवन । विहे गरेको केहि दिनमै मेरा खुशीहरु लुटिन थाले, विहे गर्नु अघि जात नहेरिएकी म विहे पछि तल्लो जातकी भए । दाइजोको दवाव आयो, मेरो माइतिले आफ्नो हैसियत अनुसार सुन, नगद र सामान दाइजोमा दिनुभयो, उसलाई त केही महत्व नहोला तर मेरा बुवाले आधा जिन्दगीभर दुख गरेर जोगाएको रगत र पसिना थियो त्यो दाइजोमा, जब उनीहरुले त्यो दाइजो पाए सबै आफ्ना विवाहित दिदिबहिनीलाई दिए ।
घरमा भएको सबै अचल सम्पत्ति, घर, जग्गा, गाडि, व्यापार विवाहित दिदिबहिनीलाई नामसारी गरि दिएछन । त्यसपछि सुरु भयो म माथि सबै परिवारको हिंशा पति रक्सी खाएको वाहानामा कुटपिट गर्ने, अरु घरका सबैले केहि न केहि वाहानामा झगडा गरिरहने १७ वर्षकी म कुनै दिन त राम्रो होला भन्दै बसे तर सम्बन्ध झन बिग्रिदै गयो । जब म गर्भवती भए पहिलो पटक जबरजस्ती औषधि खुवाएर गर्भपतन गराए, फेरी १ वर्षपछि गर्भवति भए फेरि उही दवाव आयो बच्चा फाल भनेर मैले मानिन, पटक–पटक फाल्न दवाव आयो, विभिन्न धम्की आयो मैले मानिन, नमानेपछि सबै परिवार मिलेर मलाई घर निकाला गरिदिए २ महिनाको गर्भ बोकेर माइति आएकी म एसएलसी. पछिको पढाइ पनि रोकिएको थियो ।

विहे गरेको सुरु वर्षमा माइतिमा बुवाले मेरो ११ मा नाम लेखाइ दिनु भएको थियो तर परिक्षा दिन पाइन घरकाले आईमाइले पढेर के हुन्छ बढि भए राहात कोटा पाउने त हो भनेर परिक्षा दिन जान दिएनन् तर माइतिमा बिरामी छु परिक्षा दिन सक्दिन भनेर ढाटे तर अब फेरि गर्भपतन गर्न पनि मन थिएन, पढाई छोड्न पनि मन लागेन फेरि ११ मा भर्ना भए गर्भवति म कुनै दिन कलेज जान छोडिन, उता घरपरिवार श्रीमान कसैसंग पनि सम्पर्क थिएन । माइति आएको २ महिनापछि फेरि घरमा गए घरमा पस्न दिएनन् । पटक–पटक घरमा जाने तर, घरकाले अरुले देख्दा केहि नगर्ने तर आधा रातमा कुटपिट गरी घर निकाल्ने गरेपछि फेरि त्यो घरमा चाहेर पनि जान सकिन बच्चा जन्मिने दिन आइसक्यो तर पतिसंग कुनै सम्पर्क थिएन, फोन गर्दा अफ गर्ने, नम्बर परिवर्तन गर्ने गरेपछि बाध्य भएर पति झिकाइ छलफल गराइ पाउँ भनि उजुरी गरे तर, उसंग सम्पर्क भएन, सुत्केरी भएर घरमा बसे कति दिन भोकै बसे, कति रात रुदै बिताए त्यसको कुनै हिसाब किताब छैन । मिलापत्रका लागि गरेका कति थान सम्झौताहरु अझै पनि जिल्ला प्रहरी कार्यालयको फाइलमा चाङ्ग लागेका होलान तर, सम्बन्ध राम्रो हुन सकेन, छोरी लिएर घरमा जादा उसका दिदि र दाईले कुटेका मेरो सुत्केरी शरिरका डामहरु धेरै दिनसम्म रहे तर, मनमा लागेका दागहरु जान त अझ कति वर्ष कुर्नु पर्छ होला ।


मेरो शरिर अझै पनि अपांग जस्तो महिनै पिच्छे औषधि गर्नु पर्ने अवस्थामा छ, मेरो सर्लक्क परेको जीउँ र लामो कपाल हिंस्रक व्वासोलाई लुछि–लुछि खानलाई दिएको जस्तो भयो । बच्चाको जन्मदर्ता र मेरो नागरिकताको लागि धेरै अनुरोध गरे तर, बनाइदिन मानेनन् उल्टै तेरो के प्रमाण छ भन्दै धम्कि दिन थाले, बारम्बार कोशिस गर्दा पनि नभएपछि नाता प्रमाणित, सम्बन्ध बिच्छेद, र अंश मुद्दा दायर गरे र तीन वर्षपछि फैसला मेरो पक्षमा आयो तर, खाना खर्च दिन सक्दैन भनि फेरि उनिहरुले पुनरावेदन दायर गरे, पुनः फैसला मेरै पक्षमा आयो ६ वर्ष धाए अदालतको ढोका मुद्दा जितियो तर, अंश लिएर घर बनाएर बस्न पनि नपुग्ने सम्पत्ति लिनु र नलिनुको कुनै अर्थ थिएन, फैसला कार्यान्वयन नगरि सम्बन्ध बिच्छेद भए पछि म आफ्नो पढाइ र काम लाई निरन्तरता दिदै बच्चाको जिम्मेवारी बोकेर सदाको लागि छोडेर हिडे त्यो नर्क जस्तो घर ।
विगत भुलेर वर्तमानमा रमाउन त सजिलो थिएन तर, जिन्दगी हो चले चल्छ नचले घिसार्नु पर्छ भनेर खुसी हुने कोशिस गर्दै थिए । मास्टर डिग्री सकेर एलएलबी पढ्दै गरेकी म मेरो माईति घर परिवारको राम्रो सहयोग थियो, मलाई कहिल्यै एक्लो महशुस गर्नु परेन, पढ्दै गर्दा बच्चा घरमै छोडेर बाहिर बस्नु त सहज थिएन तर पनि बाध्यताको अगाडि मेरो केहि उपाय थिएन । घरमा जादा बच्चाले दिदि भनेर बोलाउदा यति मन भक्कानिएर आउथ्यो, बाबा त जीउदै मर्यो तर आमाले पनि छोड्नु पर्दाको पीडा सायदै भोग्नेलाई मात्रै थाहा हुन्छ । आफ्नो खर्च चलाउन सक्ने राम्रै जागिर थियो पढाइ सकिदै थियो, खुसी फेरि फर्किदै थिए तर, एकाविहानै कामले निस्किएकी म पछाडीबाट आएर बोतलको पानि खन्याएर दौडेको नकापधारी मान्छेलाई चिन्न सकिन, होसमा आउदा म अस्पतालको शैंयामा छटपटाइ रहेकी थिए, अनुहार पोलेर इट्टाभट्टाको चिम्निमा झोसे जस्तो भैराथ्यो, अनुहार भरि घाँउ थियो तर, कस्तो छ भनेर देख्न पाईन । जसले बिहेको नाटक गरेर मेरो अस्मिता लुट्यो पटक–पटक शारीरिक, मानसिक तथा यौन हिंसा गर्यो यो सब सहन नसकी उसलाई कानूनी रुपमै सम्बन्ध विच्छेद गरी जिन्दगीभरको बाटो खुला गरीदिए फेरी पनि उसैले यी सब अपराध गर्यो छ । घटना घटेको तीन महिना अस्पतालको बसाइपछि जब घर आउदा गाडिमा बसे गाडिमा राखेको ऐना देखेर म यसरी तर्सिएकी चिच्यायर रोए, रुनुको कुनै विकल्प त थिएन तर, पनि मन किन मान्थ्यो र कुरुप भएको अनुहार देखेर आफ्नै बच्चा तर्सिन्थ्यो, टोल, छिमेक जतासुकै मान्छेहरु मलाई देखेर भाग्ने, बोल्न डराउने भएका थिए । पहिले तिमिलाई देखे साइत पर्छ भन्नेहरु अहिले अलक्षिना भन्दै तर्किन्थे, सजिलो थिएन बाच्न बेला–बेलामा मनमा आत्महत्या गरौ भन्ने सोच नआएको पनि होइन तर छोरीको अनुहार हेर्थे अनि जुन जस्ति छोरीको अनुहार जोगाउन पनि बाच्नु पर्छ भन्ने हिम्मत जागेर आउथ्यो, मेरो अनुहार जलेको हो मन त जलेको छैन नि म जस्तै अरु धेरै छोरीलाई फेरी जल्नु नपरोस मलाई जस्तै हिंसा सहन नपरोस भनेर पनि अझ बढी बाच्नु पर्छ भन्ने साहस आउथ्यो ।

एउटा महिलालाई बजारबाट सामान किनेर ल्याए जस्तो बिहे गर्यो, मन पर्दासम्म प्रयोग गर्यो, अनि मिल्कायो गर्नेका लागि अधिकार खोज्न ६ वर्ष अदालत हिडेकी म, न्यायपालिकाको ढिलासुस्तिले खेप्नु परेको दुखका कारण कानून पढेकी म, अब त मेरो अनुहार जलेको छ किन त्यसै छोड्छु र ? म मेरो पुर्व पतिसंग लडेकी छैन, उसलाई त पहिल्यै थाहा थियो उसले गरेको गल्तिको सजाय के हुन्छ, कति क्षतिपुर्ति तिर्नुपर्छ, कस्तो कानूनी व्यवस्था छ भनेर, अव म लड्छु त मेरो राज्यसंग, समाजमा राम्रो सुन्दर वा कुरुप अनुहारको चर्चा परिचर्चाले त विभेद गरेको छ । राज्यको कानूनमा त समानता हुनु पथ्र्याे नि तर, हुन सकेन एउटा व्यक्ति पुर्ण रुपमा सक्षम हुनलाई शरिरका सम्पुर्ण अंगहरुको उत्तिकै महत्व हुन्छ , कानूनले अनुहार पुर्ण रुपमा कुरुप भएको भए भनेर विभेद गरेको छ । के अरु अंगको कुनै महत्व छैन ? अनुहार जलेका तर सुन्दर मन भएका मान्छेको कुनै महत्व छैन ? हो अब म लड्छु विभेदकारी सोच लिएको मेरो समाज संग !
लेखक  :  अधिवक्ता हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा ३ जना संक्रमित थपिए, १ डिस्चार्ज

२० पुष २०७८, मंगलवार १३:३१
नेपालगञ्ज : बाँकेमा मंगलवार थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका दुईवटा प्रयोगशालामा ४६ नमुना परीक्षण गर्दा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ । भेरी अस्पतालमा ३० नमुना जाँच्दा २ र मेडिकल कलेज कोहलपुरमा १६ नमुना परीक्षण गर्दा १ जनामा […]