नेपालगञ्ज : नेपालगञ्जमा कोईलाको आगो तापेर एकै कोठामा सुतेका ७ जना मध्ये ४ जना मृत अवस्थामा र अन्य ३ जना गम्भीर अवस्थामा भेटिएका छन् । कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय खरिद तथा आपूर्ती शाखा हाल नेपालगञ्जमा कार्यालय सहयोगी तथा लोडर प्याकरको रुपमा कार्यरत कालिकोट खांडचक्र–६ पिलि निवासी २३ वर्षिय धर्मप्रसाद भट्टराई उनको ३ महिनाको छोरा इप्सन भटटराई, आमा ४५ बर्षिया कोकीला भटटराई र २७ वर्षीय दिदी नन्दकली भट्टराई मृत अवस्थामा भेटिएको बाँके प्रहरीले जनाएको छ ।
भेरी अस्पताल परिसरमा रहेको मृतक भट्टराईको क्वाटरको एउटै कोठामा सुतेका ७ जना मध्ये ४ जना बिहिबार बिहान मृत्यु अवस्थामा भेटिएको र ३ जना बेहोस अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सह प्रवक्ता समेत रहेका प्रहरी निरिक्षक खिमबहादुर घर्ति मगरले जानकारी दिए ।
सो घटनामा परेर गम्भीर अवस्थामा रहेकी २४ वर्षिया सुशिला भट्टराई, ३ वर्षिय दिवश भट्टराई र १८ वर्षिय नरेन्द्र भट्टराईको भेरी अस्पतालको सघन कक्षमा उपचार भईरहेको छ । सुशीला मृतक भट्टराईकी श्रीमती, नरेन्द्र भाई र दिवश छोरा हुन । प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर कुकुरसहितको टिमले अनुसन्धान गर्दा टिनको बाकसमा कोईला बालेर सकिएको अवस्थामा भेटिएको पाईएको प्रहरी निरिक्षक घर्तीमगरले बताए । उनले घटनाको अनुसन्धान सुरु गरको जानकारी दिए ।
बुधबार बिहानैदेखि परेको झरीका कारण जाडो बढेसगै कोइला बालेर एकै कोठामा ७ जना सुतेकोमा कार्वन मोनो अक्साईड जस्तो ग्याँसका कारण अक्सिजन घट्न गई स्वाश प्रस्वासमा समस्या भई निशासिएर मृत्यु भएको हुनसक्ने भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट फिजिसिएन तथा मेडिसिन विभाग प्रमुख डा राजन पाण्डेले जानकारी दिए ।
उनले भने–‘ घटनाको कारण मृतकको पोष्टमार्टमले पनि खुलाउने छ । तर प्रारम्भिक अवस्थामा हेर्दा अक्सिजनको अभावको कारण मृत्यु भएको देखिएको छ ।’ उनले उपचारमा रहेका ३ मध्ये एकको अवस्था अलि गम्भीर रहेको र तीनै जनालाई भेरी अस्पतालको सघन कक्षमा राखेर उपचार सुरु गरेको बताए ।
मृतक भट्टराई कार्यरत कार्यालयका फार्मेसी अधिकृत धर्मेन्द्र न्यौपानेले कर्णाली प्रदेशको मेडिकल स्टोरमा तापक्रम यथावत राख्नको लागि जेनेटर चलाई राख्नु पर्ने अवस्था रहेको र बिहीबार बिहान साढे ५ बजेतिर मृतक भट्टराईलाई जेनेरेटरमा तेल राख्नको लागि फोन गर्दा नउठेपछि क्वाटरमा जाँदा गम्भीर अवस्थामा रहेकी श्रीमतिले ढोका खोलेपछि घटना बाहिर आएको बताए ।
उनले भने–‘जेनेरेटरमा डिजल सकियो डिजल हालौ भनेर धेरैपटक भट्टराईलाई फोन गर्दा नउठेपछि क्वाटरमै गएर बोलाउदा अर्धचेत अवस्थामा भट्टराई पत्नी सुशीलाले ढोका खोलपछि सबैको अवस्था गम्भीर रहेको थियो ।’
दुई छोरा र पतीपत्नी सहित बस्दै आएका मृतक भट्टराईको घरमा पाहुना आएका आमा, भाई र दिदी गरी ७ जना टिनको बाकसमा कोईला बालेर सुतेको अवस्था ४ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर रहेका छन् । भेरी अस्पताल परिसरमा रहेको उनको क्वाटरदेखि इमरजेन्सी वार्ड मुस्किलले २ सय मिटरको दुरीमा छ ।