काँग्रेस सभापतिमा ६ जनाको उम्मेदवारी

सदरलाइन संवाददाता २५ मंसिर २०७८, शनिबार १८:४६
 


काठमाडौं : काठमाडांैमा सुरु भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयनको समय सकिएको छ । शनिबार अपरान्ह ५ बजेसम्म नेताहरुले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

सभापति पदमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेसहित ६ जनाले मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै उपसभापतिमा देउवाको प्यानलबाट विजय गच्छदार, पूर्णबहादुर खड्का, कोइरालाको प्यानलबाट धनराज गुरुङ, चन्द्र भण्डारी, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधिको प्यानलबाट दिव्यश्वरी शाहले मनोनयन दर्ता गराएका छन् ।

महामन्त्रीमा सभापति देउवा प्यानलबाट डा. प्रकाशशरण महत, प्रदीप पौडेल, कोइराला प्यानलबाट डा. मिनेन्द्र रिजाल, गगन थापा, प्रकाशमान सिंह प्यानबाट विश्वप्रकाश शर्मा र निधि प्यानलबाट डा. राजाराम कार्कीले मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै ८ सहमहामन्त्री पदका लागि १९ जनाको उम्मेदवारी परेको छ । सहमहामन्त्रीमा खस आर्य, महिला, दलित, मधेसी, जनजाति, पिछडिएको क्षेत्र, थारु र अल्पसंख्यक क्लस्टरबाट एक एक जना निर्वाचित हुनेछन् ।


देउवा समूहबाट महिला कोटाको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना, जनजातिबाट भीष्मराज आङ्देम्बे, दलितबाट मानबहादुर विश्वकर्मा, मधेशीबाट महेन्द्र यादव, खस आर्यबाट किशोरसिंह राठौर, थारुबाट उमाकान्त चौधरी, अल्पसंख्यकबाट फरमुल्लाह मन्सुर (बारा) र पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही उम्मेदवार छन् ।

शेखर कोइराला समूहबाट सहमहामन्त्रीको उम्मेदवारमा खस आर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, जनजातिबाट विकास लामा, मधेसीबाट रामकृष्ण यादव र थारुबाट तेजुलाल चौधरी र अल्पसंख्यबाट शेख वकिलले उम्मेदवारी दिएका छन् ।

सहमहामन्त्रीमा यी बाहेक सुरेन्द्रप्रसाद चौधरी, रञ्जित कर्ण, गंगा सुनार र चेतराज बरालले पनि उम्मेदवारी दिएका छन् ।

त्यस्तै खुलातर्फको ३५ जना केन्द्रीय सदस्यका लागि १०९ जनाको उम्मेदवारी परेको छ । कुल १२१ केन्द्रीय सदस्यका लागि ५०९ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फोनिज बाँकेमा भगतरामको नेतृत्वमा नयाँ कार्यसमिति

२५ मंसिर २०७८, शनिबार १८:४६
नेपालगञ्ज : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाँके शाखाको शनिबार नेपालगञ्जमा सम्पन्न छैठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा भगतराम थारुको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ । सो अधिवेशनले अध्यक्ष थारु लगायत १० जना कार्यसमितिलाई निर्विरोध निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा सोम गुरुङ, सचिबमा लक्ष्मी चौधरी, सहसचिवमा सुमन श्रेष्ठ […]