काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङदेन बिजयी भएका छन् । पहिलो पटक प्रतिश्पर्धा गरेका उनले राजनीतिका पुराना खेलाडि समेत रहेका अध्यक्ष कमल थापालाई पराजित गरेका हुन् ।
राप्रपा अध्यक्षका लागि खसेको कूल ३ हजार ८ सय ७३ मत मध्ये लिङ्देनले १ हजार ८ सय १७ मत पाए भने थापाले १ हजार ६ सय १७ मत ल्याएका थिए । ४ सय ३१ मत बदर भएको थियो ।
२०२२ भदौ २२ मा पाँचथरमा जन्मेका अध्यक्ष लिङदेनको परिवार पाँचथरबाट झापा बसाइँ सरेको थियो । उनी झापाको हल्दिबारी गाउँपालिका–१ स्थायी बासिन्दा हुन् । लिङ्देनले २०३६ सालदेखि राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा आबद्ध भई राजनीतिक यात्रा सुरु गरेका थिए । उनी २०४९ सालमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संस्थापक अध्यक्ष भए ।
विद्यार्थी राजनीतिमा सक्रिय रहेकै बेला २०४७ सालमा राप्रपा झापाको सचिव बनेका थिए । २०४९ सालको स्थानीय निर्वाचनमा उनी झापाको गोलधाप गाविसमा वडाध्यक्ष निर्वाचित भए । २०५४ सालको अर्को स्थानीय निर्वाचनमा पनि वडाध्यक्षमा निर्वाचित भएका थिए । तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा जिल्ला विकास समिति झापाको सभापति (२०६१–२०६३) मनोनीत भएका थिए ।
उनी २०६६ सालमा कमल थापा नेतृत्वको राप्रपा नेपालको केन्द्रीय सदस्य भएका थिए । २०७० सालमा राप्रपाको महामन्त्री भए । यसपटक राप्रपाको एकता महाधिवेशनमा उनी अध्यक्षको प्रत्यासी बनेर वर्तमान अध्यक्ष (तीन अध्यक्षमध्ये एक) कमल थापालाई पराजित गरे । उनलाई अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको समर्थन थियो ।
स्थानीय तहको पछिल्लो निर्वाचनमा राप्रपाबाट नेपालगञ्जको मेयरमा विजयी धवलशमशेर राणाले पनि उनलाई समर्थन गरेका थिए । उनको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका राणा पनि विजयी भएका छन् ।
संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा झापा–३ बाट निर्वाचित उनी संसदको विकास तथा प्रविधि समिति सदस्य पनि हुन् । राप्रपाबाट देशैभरबाट प्रत्यक्षतर्फ निर्वाचित हुने लिङ्देन एक्ला सांसद हुन् । उनले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए । उनलाई झापामा नेकपा एमालेले सहयोग गरेको थियो ।
लिङदेन २०५६ सालको आम निर्वाचनमा पनि झापा–३ बाट उम्मेदवार बनेका थिए । उक्त निर्वाचनमा तेस्रो भएका उनी २०७० सालको निर्वाचनमा भने दोस्रो भएका थिए । त्यस निर्वाचनमा कांग्रेस नेता सिटौलासँग नै पराजित भएका थिए । विकास तथा सामाजिक सेवामा रुचि राख्ने उनले राजनीतिशास्त्र र इतिहास विषयमा स्नातक उत्तीर्ण गरेका छन् ।