बर्दिया : गत कात्तिकको पहिलो सातामा भएको अविरल वर्षातपछिको बाढीका कारण प्रभावितलाई राहत वितरण गरिएको छ । बासको आयोजना, एनआएनए अष्टेलियाको सहयोग, राजापुर नगरपालिकाको सहकार्य र जिल्ला विपद व्यवस्थापन समिति बर्दियाको समन्वयमा सो राहत वितरण गरिएको हो ।
कात्तिकको पहिलो साता आएको बाढीले बर्दिया राजापुर नगरपालिका–७ का प्रभावित ब्यक्तिहरुलाई राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरी, बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला, निर्वतमान अध्यक्ष मन भण्डारी, कार्यवाहक कोषाध्यक्ष दिला शाह र बासका पूर्ब बरिष्ट उपाध्यक्ष सुरेन्द्र शाहीले राहत वितरण गरे ।
राहत वितरण कार्यक्रममा बोल्दै राजापुर नगरपालिकाका नगर प्रमुख चौधरीले समस्यामा परेका घरपरिवारलाई राहत वितरण गरेकोमा धन्याबाद ज्ञापन गरे । उनले खाद्यान्न वितरणले प्रभावित ब्यक्तिहरुलाई केही हदसम्म राहत हुने बताए । प्रभावित ब्यक्तिहरुलाई गैर सरकारी संस्थाहरुले गरेको सहयोग प्रशंसनिय रहेको उनको भनाई थियो ।
वितरण गरिएको राहतमा प्रति ब्यक्ति २५ किलो चामल, २ किलो दाल, १ लीटर खाने तेल र १ किलो नुन रहेको थियो । उक्त राहत वितरणबाट १ सय घरपरिवारका पाँचसय परिवारका सदस्यहरुलाई राहत पुगेको छ ।
बासले विभिन्न समयमा आउने बाढी तथा महामारिबाट प्रभावित घरपरिवारलाई विभिन्न संघ संस्था तथा निकायहरुको सहयोगमा राहत वितरण गर्दै आएको सूचना अधिकारी हेमराज भट्टले जानकारी दिए ।