दैलेखमा बहुविवाह बढ्दो

सदरलाइन संवाददाता १४ कार्तिक २०७८, आईतवार १६:२५
 

दैलेख : दैलेखमा बहुविवाह गर्नेको सङ्ख्या बढ्दै गएको छ । प्रहरी हिरासतमा राखिएका १० जनामध्ये ६ जना बहुविवाहको आरोपितहरु हुनुले दैलेखमा बहुविवाह अपराध बढ्दै गरेको छ भन्ने पुष्टि गरेको छ । इन्सेकले सन् २०२१ को जनवरीदेखि सेप्टेम्बरसम्म सङ्कलन गरेको मानव अधिकार ज्यादतीका ८४ घटनामा १५ वटा बहुविवाहका घटना छन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखको महिला तथा बालबालिका सेवा केन्द्रले अध्यावधिक गरेको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्ष ०७७÷७८ अवधिमा १९, आर्थिक वर्ष ०७६÷७७ अवधिमा १४ र आर्थिक वर्ष ०७५÷७६ अवधिमा २० जोडीले बहुविवाह गरेका थिए ।


मुलुकी अपराधसंहिता २०७४ को दफा १७५ ले बहुविवाहलाई कानुनी मान्यता नदिने भन्दै बहुविवाह गरेमा पहिलेको मुलुकी ऐन २०२० ले तोकेको एक वर्षदेखि तीन वर्षसम्मको कैदलाई बढाएर पाँच वर्षसम्म पुर्याइएको छ । कानुनले कडाइ गर्दै गरेपछि पनि बहुविवाह नरोकिनु सामाजिक कुचलन प्रमुख कारण रहेको अधिकारकर्मीहरु बताउछन् ।

बहुविवाहलाई समाजले सामान्य घटनाको रुपमा लिने गरेको अझै कयौँ घटनाहरु कानुनी प्रक्रियामा नआएका सामाजिक सेवा केन्द्र (सोसेक)को महिला तथा बालबालिका सेवा केन्द्रका कार्यक्रम संयोजक रमा श्रेष्ठ बताउछिन् । कानुनी प्रक्रियामा आएकाहरुलाई पनि पहुँचवाला पीडकहरुले पीडितलाई बयान बदल्न लगाउने गरेको उनले टिप्पणी गरिन् ।

बहुविवाहको मुख्य जड बालविवाह भएकोले बालविवाह रोकथाम गर्न सामाजिक सचेतना बढाउन जरुरी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी इञ्चार्ज डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए । जनचेतना अभिवृद्धिमा प्रहरीको एक्लो प्रयास असम्भव भएकोले स्थानीय सरकार र नागरिक समाजको अगुवाइ आवश्यक रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘चलखेलले’ गर्दा ३० वर्षे सेवा अवधीका कारण सेवा निबृत्त भए सशस्त्रका एसएसपी शाह

१४ कार्तिक २०७८, आईतवार १६:२५
काठमाडौं : सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भेषबहादुर शाहले ३० वर्षे सेवा अवधिको कारण अनिवार्य अवकाश पाएका छन् । डीआईजी बढुवाको प्रतिष्पर्धामा रहेका एसएसपी शाहलाई प्रतिष्पर्दै गर्ने मौका नदिई ३० वर्षे सेवा अवधिका कारण गत बुधबारबाट अनिवार्य अवकाश हुनु परेको हो । उनी सेवामै रहदा डीआईजी पद रिक्त रहे पनि […]