मानव खप्पर र हड्डीसहित दुईजना पक्राउ

सदरलाइन संवाददाता २० आश्विन २०७८, बुधबार १२:४७
 

विराटनगर : मोरङको विराटनगर भन्सार कार्यालयको २ नम्बर ढाटबाट नेपाल भित्र्याउन लागेको अवस्थामा मानव खप्पर र हड्डी बरामद भएको छ । भारतको जोगवनीबाट नेपाल प्रवेश गर्न लागेको को १ च ९६४८ नम्बरको भ्यानबाट सशस्त्र प्रहरीले मंगलबार साँझ खप्पर र हड्डी बरामद गरेको हो ।

भ्यान चेकजाँच गर्ने क्रममा सशस्त्र प्रहरी बल नेपाल बोर्डर पोष्ट रानीबाट खटिएको टोलीले २८ थान खप्पर र नली खुट्टा एवं हातको हड्डी बरामद गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार सशस्त्र प्रहरीले भ्यानलाई चेकजाँच गर्न थालेपछि चालक फरार भएका थिए। भ्यानको डिक्कीमा फेला परेको पहिचान नखुलेको वस्तु कछुवाको ढाडको हड्डी र वन्यजन्तुको नली खुट्टा भएको अनुमान लगाइएको थियो। तर‚ वन्यजन्तु विज्ञ, चिकित्सक, वनका कर्मचारीले उक्त वस्तु वन्यजन्तुको अंग नभएको बताएका पौडेले बताए ।

डिभिजन वन कार्यालय मोरङका सहायक वन अधिकृत परमेश्वर पासवानले वन्यजन्तुको अंगसँग मेल नखाने वस्तु मानव अंग भएको हुन सक्ने बताए । उनले हेर्दा मानव शरीरका अंगसँग मेल खाने र फरेन्सिक परीक्षणपछि मात्रै यसबारे पुष्टि हने बताए ।

घटनाको थप अनुसन्धान गरेर वास्तविकता पत्ता लगाउन बरामद भएको वस्तु नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डिआइजी कमल गिरीले जानकारी दिए ।


उनका अनुसार सीमा क्षेत्रबाट आवतजावत गर्ने मानिस र सवारी साधनमाथिको चेकजाँच तीव्र बनाइएको छ । सीमा क्षेत्रबाट मानव अंगसँग मिल्ने वस्तु बरामद भएपछि घटनालाई निक्कै संवेदनशील रूपमा लिइएको उनले बताए ।

बरामद भएको बस्तु परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाउने तयारी भइरहेकाले रिपोर्ट प्राप्त भएपछि पुष्टि हुन सक्ने मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताए ।

फरार रहेका भ्यान चालक विराटनगर महानगरपालिका–१७ का विनोद राय र झापाको दमक नगरपालिका–५ का ४३ वर्षीय युवराज कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर सोधपुछ सुरु गरिएको प्रहरीले जनाएको छ ।

ती वस्तु कहाँबाट ल्याएको र कसको हो भने खुलिसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा १५ संक्रमित थपिए, ६ जना डिस्चार्ज

२० आश्विन २०७८, बुधबार १२:४७
नेपालगञ्ज : बाँकेमा बुधवार थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८१ नमुना परीक्षण गर्दा थप १५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ३९ नमुना परीक्षण गर्दा ९ र मेडिकल कलेज कोहलपुरमा ३६ नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये […]