नेपालगञ्ज : नेपालगञ्जको जमुनाहा नाकामा स्थापना गरिएको पर्यटन सूचना केन्द्र प्रयोगविहीन बनेको छ । लुम्बिनी प्रदेश सरकारको बजेटमार्फत नेपालगञ्ज उपमहानगरपालिकाको प्राविधिक सहयोगमा केन्द्रको भवन निर्माण सम्पन्न भएपनि प्रयोगमा भने आउन सकेको छैन् ।
पर्यटन सूचना केन्द्र पर्यटन डिभिजन कार्यालय वा पर्यटन बोर्डमध्ये कसलाई प्रयोग गर्न दिने भन्नेमै टुंगो लाग्न नसक्दा केन्द्र सञ्चालनमा नआएको पर्यटन डिभिजन कार्यालय बाँकेका प्रमुख माधव ज्ञवालीले बताए ।
पर्यटन सूचना केन्द्र सञ्चालनका लागि आवश्यक पर्ने बजेट र कर्मचारीको ब्यवस्थापन हुन नसकेको उनको भनाइ छ । भारतबाट नेपालगञ्ज हँुदै भित्रिने पर्यटकलाई लक्षित गरेर गतवर्ष उक्त केन्द्र स्थापना गरिएको थियो ।
यस क्षेत्रका पर्यटकीय गतिविधी जान्न, बुझ्न सहज होस् भनेर नै स्थापना गरिएको थियो । भारतबाट आउने पर्यटकका लागि नेपालका पर्यटकीय स्थलका बारेमा केन्द्रले डिसप्लेसहित जानकारी गराउने मन्त्रालयको अवधारणा छ ।