नेपालञ्गजका अधिकांश सिसिटिभी काम नलाग्ने अवस्थामा

यदुराज मिश्र १७ भाद्र २०७८, बिहीबार १६:२४
 

नेपालगञ्ज : भदौ ७ गते नेपालगञ्जको त्रिभुवन चोकमा अढाइ वर्षीया बालिकालाई तीब्र गतिमा हुइकिएर आएको मोटरसाइकलले ठक्कर दियो । उनको घटनास्थलमै मृत्युभयो । तर अहिलेसम्म ठक्कर दिने मोटरसाइकलको पहिचान हुन सकेको छैन ।

मामासँग मिठाई खाएर फर्किनेक्रममा राती साढे १० बजेतिर मोटरसाइकलले ती बालिकालाई ठक्कर दिएको थियो । त्रिभुवन चोकमै सिसिटिभी क्यामेरा छ । तर क्यामेरा विग्रीएको महिनौ दिन भइसक्यो । जस्का कारण घटनाका दोषीलाई पहिचान गर्न प्रहरीले अहिलेसम्म सकिरहेको छैन ।

त्रिभुवन चोकमात्र होइन नगरका क्षेत्रका अधिकांश ठाउँका सिसिटिभी क्यामेरा विग्रिएका काम नलाग्ने अवस्थामा पुगेका छन् । विग्रिएका क्यामेरा जडान गर्ने सवालमा सरोकारवाला गैरजिम्मेवार देखिएका छन् । चारवर्ष अघि निजी क्षेत्रको पहलमा नगरका ५४ ठाउँमा सिसिक्यामेरा जडान गरिएको थियो ।

तत्कालिन उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यको संयोजकत्वमा सिसिटिभ क्यामेरा जडान तथा व्यवस्थापन समिति गठन गरेर नगरका महत्वपूर्ण र संवेदनशिल क्षेत्रमा क्यामेरा जडान गरिएको थियो ।

निजी क्षेत्रबाट रकम संकलन गरेर जडान गरिएका सिसिक्यामेरा अधिकांश विग्रिन थालेका छन् । ५४ वटामध्ये अहिलेसम्म २२ वटामात्रै सञ्चालनमा छन् । अरु १४ वटा मर्मत गरेपछि सञ्चालन हुने अवस्थामा छन् भने १८ वटा क्यामेरा मर्मत नै नहुने गरी विग्रिएका छन् ।


मर्मतका लागि समितिसँग बजेट अभाव भएपछि अहिले सिसिक्यामेरा जहाँको त्यही थन्किएका छन् । संयोजक बैश्य क्यामेरापनि पुरानो भएको र मर्मतका लागि पनि रकम धेरै लाग्ने भएपछि यसको जिम्मा स्थानीय वा प्रदेश सरकारले लिनुपर्ने धारणा राख्छन् ।

नगरमा हुने आपराधिक घटना नियन्त्रण र घटना भइहाले अनुसन्धानमा प्रहरीलाई सहजता ल्याउन सिसिटिभी महत्वपूर्ण मानिन्छ । त्यही भएर स्थानीयकै पहलमा सिसिटिभी जडान तथा मर्मत समिति बनाएर नगरका संवेदनशील क्षेत्र र चोकमा सिसिटिभी जडान गरिएको थियो ।

त्यसका लागि जिल्ला प्रहरी कार्यालयमा मनिटरिङ राखेर त्यसको अध्ययन र अवलोकन हुँदै आएको थियो । तर धमाधम विग्रदै गएपछि अहिले प्रहरीलाई पनि सिसिटिभी टाउको दुखाई बनेको छ ।

समितिसँग क्यामेरा जडानपछि बचेको ५ लाख रुपैयाँ छ । त्यहींबाट अहिले विग्रिएका क्यामेरा मर्मतको काम भइरहेको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीको भनाई छ । उनले दीर्घकालिन समाधानका लागि पहल जरुरी रहेको बताउँछन् ।

नगरको शान्ति सुरक्षासँग प्रत्यक्ष जोडिएका यस्ता बिषयमा जिम्मेवारी लिएका सरोकारवालाहरु पन्छिने प्रवृत्ति राम्रो होइन् । दीर्घकालिन योजनाबिना शुरुमा धमाधम क्यामेरा जडान गर्ने र अहिले हामीले सकेनौं भनेर पछिँदा जिम्मेवारीबाट भागेको जस्तै भयो । त्यसैले समन्वय र सहकार्य गरेर यसको दीर्घकालिन व्यवस्थापन गर्न आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा बिहीवार २० संक्रमित थपिए, ९ डिस्चार्ज

१७ भाद्र २०७८, बिहीबार १६:२४
नेपालगञ्ज : बाँकेमा बिहीवार थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १४५ नमुना परीक्षण गर्दा थप २० जनामा संक्रमण पुष्टि भएको हो । भेरीमा १५ र कोहलपुर मेडिकल कलेजको प्रयोगशालामा ५ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ । तिमध्ये […]