बैतडी : बैतडी जिल्लाका विद्यालय खुल्न थालेका छन् । कोरोनाका सक्रिय सङ्क्रमित शून्य रहेका स्थानीय तहहरुले विद्यालय सञ्चालन गरिरहेका हुन् ।
जिल्लाको मेलौली नगपालिकामा गत साउन १० गतेदेखि विद्यालय खुलेका हुन् भने शिवनाथ गाउँपालिकाले भदौ २ गते बुधबारदेखि विद्यालय पुनः सञ्चालन गर्ने जनाएको छ ।
यी दुवै स्थानीय तहमा हाल कोरोनाका सक्रिय सङ्क्रमित नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कोरोना महामारीका कारण लामो समयदेखि विद्यालय बन्द हुँदा बालबालिकामा नकारात्मक प्रभाव परेकाले विद्यालय पुनः सञ्चालन गर्ने निर्णय भएको गाउँपालिकाका उपाध्यक्ष कुष्मा चन्दले बताइ ।
कोभिडको सङ्क्रमण कम हुँदै गएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालनमा ल्याउने निर्णय भएको हो । शिवनाथमा हाल कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य छ ।