बाँके र दाङ्गमा एकैदिन चारजना कोरोना संक्रमितको मृत्यु

सदरलाइन संवाददाता २४ श्रावण २०७८, आईतवार २०:०८
 

नेपालगञ्ज : बाँके र दाङका कोरोना अस्पतालमा उपचारार्थ चार कोरोना सङ्क्रमितको एकैदिन मृत्यु भएको छ । नेपालगञ्जको भेरी अस्पतालमा उपचार गराइरहेका रोल्पा, दाङ र सुर्खेतका तीन सङ्क्रमितको आइतबार मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै दाङको अस्थायी कोरोना अस्पताल बेलझुण्डीमा उपचारका लागि भर्ना भएका एक सङ्क्रमितको आजै मृत्यु भएको अस्पतालले जनाएको छ ।

नेपालगञ्जको भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका रोल्पाको लुङग्री गाउँपालिका–६ निवासी ५८ वर्षीय पुरुष, दाङको तुलसीपुर उपमहानगरपालिका– १५ निवासी ४५ वर्षीय पुरुष र सुर्खेतको भेरीगङ्गा नगरपालिका– १० निवासी ३९ वर्षीय महिलाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्शन तेज वलीले जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार लुङग्री– ६ रोल्पा निवासी ५८ वर्षीय पुरुषको आज बिहान २ः०० बजे, तुलसीपुर–१५ दाङ निवासी ४५ वर्षीय पुरुषको आज बिहान ८ः३० बजे र भेरीगङ्गा–१० सुर्खेत निवासी ३९ वर्षीय महिलाको बिहान उपचारका क्रममै मृत्यु भएको हो ।


योसँगै हालसम्म कोरोना सङ्क्रमणपछि उपचारका लागि अन्य जिल्लाबाट बाँकेका अस्पतालमा आएका ३ सय ८६ व्यक्तिको मृत्यु भएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको कोरोना उपचार केन्द्रका रुपमा रहेको भेरी अस्पतालमा पुनः कोरोना सङ्क्रमित बिरामीको चाप बढ्दै गएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्शन वलीले बताए ।

यस्तै दाङमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत घोराही उपमहानगरपालिका–१७ निवासी ७९ वर्षीया महिलाको मृत्यु भएको हो ।

उनको आज बिहान उपचारका क्रममा मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए । ती महिला साउन १५ गतेदेखि सघन उपचार कक्षमा उपचाररत थिइन् । उनमा निमोनियासँगै श्वासप्रश्वासमा पनि समस्या थियो । अहिले अस्पतालको सघन उपचार कक्षमा छ जनाको उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सोमवार बाँकेमा २३ संक्रमित थपिए, ७ डिस्चार्ज

२४ श्रावण २०७८, आईतवार २०:०८
नेपालगञ्ज : बाँकेमा सोमवार थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगलाशामा १६६ नमुना परीक्षण गर्दा २३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरीको प्रयोगशालामा ११८ नमुना परीक्षण गर्दा १९ र मेडिकल कलेज कोहलपुरमा २८ नमुना परीक्षण गर्दा ४ जनामा भाइरस संक्रमण देखिएको […]