नेपालगञ्ज : बाँकेमा सवारी दुर्घटनामा परेर ज्यान गुमाउने तथा घाइते भई अंगभंग हुनेको संख्या बढ्दो क्रममा रहेको पाईएको छ । जिल्ला ट्राफिक कार्यालय बाँकेको तथ्याङ्क अनुसार गत तीन वर्षमा बाँकेमा भएका सडक दुर्घटनामा परेर २ सय १० जनाले ज्यान गुमाएका छन् ।
आर्थिक वर्ष २०७७/०७८ मा सवारी दुर्घटनामा परेर ७७ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेका प्रमुख तथा ट्राफिक प्रहरी निरिक्षक राजु भण्डारीले बाँकेमा आर्थिक वर्ष २०७७/०७८ मा १ सय ५० वटा सवारी साधन दुर्घटना हुँदा ७७ जनाले ज्यान गुमाएको जानकारी दिए ।
सडक दुर्घटनामा परेर मृत्यु हुनेमा ५६ जना पुरुष, १७ जना महिला र चार जना बालक रहेका छन् । विभिन्न समयमा भएका यी दुर्घटनामा परेर १० चौपायले समेत ज्यान गुमाएको तथ्याङ्क पनि जिल्ला ट्राफिक कार्यालय बाँकेसंग छ ।
बाँकेमा सवारी दुर्घटनामा परेर घाइते हुनेको संख्या पनि अधिक छ । जिल्ला ट्राफिक कार्यालय प्रमुख तथा ट्राफिक प्रहरी निरिक्षक भण्डारीले दिएको जानकारी अनुसार ७१ जना गम्भीर र १ सय ३६ सामान्य गरी २ सय ७ जना घाइते भए भने ८ वटा चौपाय पनि घाइते भएका छन् ।
जिल्लामा सबैभन्दा धेरै दुर्घटना भदौ महिना २० वटा सवारी साधान दुर्घटनामा परेका छन् भने सबै भन्दा कम साउन महिनामा ६ वटा सवारी सधान दुर्घटनामा परेको ट्राफिक प्रमुख भण्डारीले बताउछन् । उनले भने–‘ छाडा चौपायको कारण सबै भन्दा बढि सडक दुर्घटना निम्त्याउने गरेको छ ।’ उनले चालकको लापरबाही, ओभर स्पिड, ओभर लोड र सडकको अवस्थाले दुर्घटनाको कारण हुनसक्ने दाबी गरे ।
आर्थिक वर्ष २०७६/०७७ मा १९१ वटा सवारी दुर्घटनाका घटना हुँदा ७३ जनाले ज्यान गुमाएका छन् भने २०१ पुरुष, ५२ महिला, १९ बालक र ८ बालिका गरी २ सय ८० जना घाइते भएका छन् । यसै आर्थिक वर्षमा सवारी दुर्घटना मै परे ४० चौपायले ज्यान गुमाए भने ३ चौपाय घाइते भएको पाईन्छ ।
आर्थिक वर्ष २०७५/०७६ मा ९९ वटा सवारी दुर्घटनामा हुँदा ६० जनाले ज्यान गुमाए भने १ सय ६१ जना घाइते भएका छन भने २ चौपायले ज्यान गुमाउनुको साथै १ चौपाय घाइते भएको छ ।
जिल्ला ट्राफिक प्रमुख भण्डारीले टुर्घटनाको संख्या बृद्धि हुनुको मुख्य कारण सडकमा छाडा चौपायको उपस्थिति, सवारी चालकको लापरवाही, ओभर लोड र ओभर स्पिड, पुटपाथमा निर्माण सामाग्री राखिनु र केही हदसम्म सडकको गुणस्तरले हुनसक्ने बताउदै सडक दुर्घटना न्युनिकरणका लागि आफुहरुको सक्रियतामा बृद्धि गरेको जानकारी दिए ।