खजुरा (बाँके) : बाँकेका खजुरा गाउपालिकाले सुत्केरी आमाको स्वास्थ्य सुधारको लागि लक्षित गरी सञ्चालन गरेको सुत्केरी आमासंग स्वास्थ्यकर्मी कार्यक्रम प्रभावकारी भएको छ । खजुरा गाउपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार पालिकामा कुनै पनि सुत्केरी आमाले अकालमा ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले सुत्केरी आमासंग स्वास्थ्यकर्मी कार्यक्रम लागू गरेको हो ।
गाउपालिका स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेलले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्यमा सुधार ल्याउनको लागि पालिकाले ७ सय सुत्केरी आमालाई सेवादिने गरी लक्ष तोकेको भए पनि कोरोनाको कारणले गर्दा पनि ६ सय ४८ आमालाई घरमै पुगेर स्वास्थ्य सेवा दिएको जानकारी दिए ।
उनले भने–‘ कोरोना कहरकै बेलामा पनि सुत्केरी आमाको स्वाथ्यमा पालिकाले अत्यन्तै संवेदनशिल भएर स्वास्थ्य संस्थामा आएर सुत्केरी भएका आमाहरुको घरघरमै स्वास्थ्यकर्मी तेस्रो दिन र सातौदिन पुगेर आमा र नवजात शिशुको स्वास्थ्य परिक्षण गर्ने गरिएको छ ।’ पालिकाले स्वास्थ्यको क्षेत्रलाई संवेदनशिल क्षेत्र र विकासकै अर्को स्तम्भ मानेर सञ्चालन गरेको कार्यक्रममा पालिकाको बाहेक अन्य स्वास्थ्य संस्थामा सुत्केरी भएर आएका सुत्केरी आमालाई समेत चालु आर्थिक वर्षमा समेट्ने गरी तयारी गरेको छ ।
‘गतवर्ष हामिले पालिका भित्रका स्वास्थ्य संस्थामा पुगेर प्रसुती सेवा लिएका आमाहरुलाई मात्र समेटेका थियौ । भने यो वर्ष अन्य स्वास्थ्य संस्थामा प्रसुती सेवा लिएका आमाहरुलाई पनि समेट्ने गरी कार्यक्रम डिजाईन गरेका छौ’– उनले भने ।
बाँकेमा आर्थिक वर्ष २०७७/०७८ मा २४ जना सुत्केरी आमाले ज्यान गुमएका छन । यी मध्ये खजुरा गाउपलिकामा यो वर्षमा १ जना सुत्केरी आमाले ज्यान गुमाउनु परेको छ । भने अघिल्लो वर्ष जिल्लामा १५ जना सुत्केरी आमाले ज्यान गुमाउदा खजुराका २ जनाले ज्यान गुमाएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेको तथ्याङ्क छ ।
खजुरा गाउपालिकाले पोषण कार्यक्रमलाई समेत प्राथामिकतामा राखेर यस आर्थिक वर्षदेखि लागू गर्ने योजना बनाएको बताउछन स्वास्थ्य शाखा प्रमुख पौडेल । उनले महिला स्वास्थ्य स्वयम सेविका तथा पालिकाका स्वास्थ्य कर्मीलाई परिचालन गरी सबै वडाका बालबालिकाको स्वास्थ्य र पोषणको अवस्था पत्ता लगाई कुपोषित बालबालिका र आमालाई पोषण युक्त आहार वितरण गर्ने तथा उत्पादन गर्न सिकाउने जस्ता कार्यक्रम तयार गरिएको जानकारी दिए ।
उनले भने–‘पालिकाका सबै वडामा गर्भवती आमाको पोषणलाई ख्याल गर्दै उनीहरुलाई पौष्टिक आहारको व्यवस्था गर्ने, कुपोषित बच्चाको खोजी, पहिचान गरि उनीहरुको पोषणको अवस्था सुधार गर्ने योजना अनुसार काम सुरु भएको छ । यसको नतिजा आउन केही समय लाग्न सक्छ ।’
खजुरा गाउपालिकामा कोरोनाको संक्रमणको कारण ३४ जनाले ज्यान गुमाए भने पालिकामा कोरोनाका कारण ६ सय ९७ जना संक्रमित भए । संभावित तेस्रो लहरका लागि पुर्वतयारी अघि वढाएको बताउदै पालिकामा ९ सय १२ जनालाई कोरोनाको दोस्रो डोजसम्म भ्याक्सिन लगाएको छ भने २ हजार ६ सय २६ जनाले कोरोना विरुद्धको खोपको पहिलो मात्रा मात्रै लगाएका छन् । उनले संभावित तेस्रो कहरको तयारीको लागि पालिकाले कोभिड आईसोलेसन र कोभिड अस्थाई अस्पतालमा आवश्यक उपकरण तयारी अवस्थामा राखिएको जानकारी दिए ।