नेपालगञ्ज : बर्षायाम शुरु भएसँगै स्क्रब टाइफसका विरामीहरु देखिन थालेका छन् । बाँके, बर्दिया, दाङ, कैलालीलगायतका जिल्लाबाट स्क्रब टाइफसका विरामीहरु उपचारका लागि नेपालगञ्ज आउन थालेका हुन् ।
बर्खायाम सुरु भएसँगै स्क्रब टाइफसको जोखिम बढ्ने गर्छ । यो रोगबाट हुने मृत्यु कम गर्न समयमै रोगको पहिचान र उपचार गर्नु आवश्यक रहेको भेरी अस्पताल नेपालगन्जका फिजिसियन डा खगेन्द्र जंग शाहले बताए ।
शरीरमा घाउको कालो पाप्रो देखिनुबाहेक अत्यधिक टाउको दुख्ने, ज्वरो आउने, शरीरमा बिबिरा देखिने स्क्रब टाइफासका लक्षण भएको उनले बताए । समयमा निदान नभए उपचारमा अलमल वा ढिलाई भई फोक्सो, मस्तिष्क लगायत विभिन्न अंगमा जटिलता भइ मृत्युसमेत हुनसक्ने उनको भनाइ छ ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका फिजिसियन डा मधु अर्याल वनजंगल र झाडीमा नजाने, गएपनि शरिर पुरै छोपिने कपडा लगाउने गरियो भने स्क्रव टाइफसबाट जोगिन सकिने बताएका छन् ।
स्क्रब टाइफसको बढी जोखिम कृषक, प्राकृतिक विपत्तिको कारणले विस्थापित भएकाहरु तथा पैदल यात्रामा जानेहरुमा हुने गर्छ । पछिल्लो समय यसको जोखिममा गाउँघरका मात्र नभएर शहरबासी पनि पर्ने गरेका छन् ।