नेपालगञ्ज : बाँकेमा जारी गरिएको निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बिएको छ । बैशाख १३ गतेदेखि जारी निषेधाज्ञालाई पछिल्लो पटक जेठ २४ गतेसम्म निरन्तरता दिइएकोमा अब जेठ २१ गते राति १२ बजेसम्म लम्ब्याइएको हो ।
जिल्लामा कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप एक साता बढाइएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । नेपालगञ्ज उपमहानगरपालिकामा भने बैशाख ८ गते राति १२ बजेदेखि नै निषेधाज्ञा लगाइएको थियो ।
यो अवधिमा अत्यावश्यक सेवा र सो का लागि प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवा निषेध गरिएको छ । पसल व्यवसाय सञ्चालन, सवारी साधन र अत्यावश्यक काम बाहेकको हिंड्डुलमा पनि निषेध गरिएको छ । बैंक तथा बिमा, बीउ विजन, कृषि औजार, बिषादीका पसल, निर्माण सामग्री पाइने पसल भने सिमित कामदार राखेर स्वास्थ्य मापदण्ड अपनाएर खोल्न पाइनेछ ।
दैनिक उपभोग्य बस्तु खरिदका लागि भने विहान ७ देखि १२ बजेसम्म स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर पसल सञ्चालन गर्न दिइनेछ । निषेधाज्ञा बढाइए पनि पछिल्लो समय उल्लंघन गर्ने क्रम भने बढेको छ ।