कोरोना नियन्त्रणका लागि चिकित्सकसँग छलफल

सदरलाइन संवाददाता ३१ बैशाख २०७८, शुक्रबार १७:०५
 

नेपालगञ्ज : कोभिड संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापनका सम्बन्धमा नेपालगञ्ज उप–महानगरपालिकाले चिकित्सकहरुसँग परामर्श गरेको छ ।

मेयर डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत हिरालाल रेग्मी, प्रबक्ता प्रमोद रिजाल, स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले कोभिड रोकथाम र नियन्त्रणका लागि तत्काल गर्नुपर्ने तयारीका विषयमा यहाँका बरिष्ठ चिकित्सकहरुसँग परामर्श गरेका हुन् ।

छलफलका आधारमा नेपालगञ्ज उपमहानगरपालिकाले २३ वटै वडामा चिकित्सकहरुको सहयोग लिने भएको छ । वडाका स्वास्थ्य फोकलपर्सनहरुले वडाभित्रको विरामीको अवस्थाका बारेमा चिकित्सकसँग परामर्श गर्नेछन् । रामलिला मैदानस्थित आईसोलेसन सेन्टरमा अक्सिजनसँगै अन्य उपचार पनि प्रभावकारी रुपमा सञ्चालन गरिने भएको छ ।


छलफलमा सहभागी चिकित्सकहरुले वडाभित्रका स्वास्थ्य संस्थाहरुलाई थप प्रभावकारी बनाउन सुझाव दिएका छन् । त्यसका लागि शनिबार वडाका स्वास्थ्यकर्मी र चिकित्सकबीच समन्वयात्मक छलफल हुनेछ । चिकित्सकहरुले संक्रमितहरुको स्वास्थ्यमा समस्या भएमा छिटो भन्दा छिटो उपचारमा जानुपर्ने बताएका छन् । उनीहरुले १४ दिनपछि पुनः पिसिआर नगर्न र एन्टिजिनपछि पनि पुनः पिसिआर परीक्षण आवश्यक नभएको बताए ।

छलफलमा भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापा, पुर्ब प्रमुख डा. श्यामसुन्दर यादव, डा. राजन पाण्डे, डा. रोमा बोहरा, डा. पारश श्रेष्ठ, डा. राहुल थापा लगायतको सहभागिता रहेको थियो ।

नेपालगञ्जका अस्पतालहरुमा अक्सिजनको आवश्यकता हुन नदिनका लागि गर्नुपर्ने तयारीका विषयमा पनि छलफल केन्द्रित भएको थियो । अस्पतालका लागि कम्तिमा एउटा अक्सिजन लिक्विड ट्यांक आपतकालिन समयमा प्रयोग गर्नका लागि सिल गरेर राख्ने र त्यसका लागि जिल्ला प्रशासनमा अनुरोध गर्ने सहमति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा कन्ट्याक्ट ट्रेसिङ गरिने

३१ बैशाख २०७८, शुक्रबार १७:०५
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाले कोरोना संक्रमितहरुको अति निकट सम्पर्कमा आएका ब्यक्तिहरुको पहिचान गरि परीक्षण गराउने भएको छ । कन्ट्याक्ट ट्रेसिङमार्फत संक्रमितको अति नजिकको सम्पर्कमा रहेका ब्यक्तिहरुको पहिचान गरि परीक्षण गरिने भएको हो । उनीहरुका लागि पिसिआर र एन्टिजिन परीक्षण गरिनेछ । नगरमा कन्ट्याक्ट ट्रेसिङ कार्यलाई थप प्रभावकारी र ब्यवस्थित बनाउन […]

सम्बन्धित