नेपालगञ्ज : कोरोना संक्रमणका कारण हटस्पट बनेको बाँकेमा संक्रमितको उपचारमा सहयोग पुराउने उद्देश्यले प्लान ईन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतले बाँकेका दुई वटा गैर सरकारी संस्था मार्फत ठुलो परिमाणमा स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
बाँके युनेस्को क्लब र गेरुवा ग्रामिण समाज संघ मार्फत प्लान नेपालले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सो सामाग्री हस्तान्तरण गरेको हो ।
जिल्ला प्रशासन कार्यालयमा आयोजित एक समारोहमा सो सामाग्रीलाई क्लबका अध्यक्ष राजेन्द्र चौधरी, गेरुवा ग्रामिण समाज संघका अध्यक्ष कृष्णजंग शाह र प्लान नेपालका संयोजक जनक गिरीले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी गेलाललाई हस्तान्तरण गरेको सो सामग्री प्रजिअले भेरी अस्पतालका प्रमुख डा.प्रकाश थापालाई हस्तान्तरण गरे ।
उपलब्ध गराईएका सामाग्रीहरुमा पीपीई ५५० सेट, सर्जिकल मास्क, एन ९५ मास्क, सेनिटाइजरका बोतल तथा जारहरु, थर्मामिटर, सर्जिकल ग्लोब्स, फेसशिल्ड, स्प्रे ट्यांक र डिगनीटी किट गरेर २४ लाख १८ हजार रुपियाँ भन्दा बढी मूल्यका सामानहरु रहेका छन् ।
सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी गेलालले संक्रमित एक्कासी ठुलो संख्यामा बढेकोले समस्या भएको जनाउँदै तर अहिले आएर चारैतिरबाट सहयोग प्राप्त हुन थालेकोले केही राहात महसुस भएको बताए । उनले यस संकटको घडीमा सहयोग गर्ने सबै संघसंस्थाप्रति आभार पनि प्रकट गरे ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका सुचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले सञ्चालन गरेको सो कार्यक्रममा प्लान नेपालका संयोजक गिरीले प्लानले कोभिड विरुद्धको अभियानमा गैर सरकारी संस्थासंग मिलेर अस्पताललाई सहयोग गर्दै यो लडाईमा एकेबद्धता जनाएको बताए ।
पश्चिम नेपालका अधिकांश गम्भीर संक्रमितको उपचार गर्दै आएको भेरी अस्पताल र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले जानकारी दिए ।
सो अवसरमा बाँकेका प्रहरी प्रमुख एसपी ओम राना, सशस्त्र प्रहरीका एसपी अशोक बम, भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापा, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह, गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाहलगायतको उपस्थिति रहेको थियो ।