नेपालगञ्जमा पनि चार्जिङ स्टेशन

सदरलाइन संवाददाता १ बैशाख २०७८, बुधबार १५:१७
 

नेपालगञ्ज : नेपाल विद्युत प्राधिकरणको विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना र अन्तर्राष्ट्रिय टेण्डरबाट छनोट भएको वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड, जियाङ्सु, चीनबीच मंगलबार सम्भौता भएको छ । ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा भएको ठेक्का सम्झौताअनुसार सात प्रदेशका विभिन्न ५० स्थानमा स्टेशन निर्माण हुनेछ ।

जसमध्ये लुम्बिनी प्रदेशमा ८ वटा चार्जिङ स्टेसन रहने निर्माण हुने भएको छ । जसमा नेपालगञ्जमा १, दाङको भालुवाङमा २, रुपन्देहीको बुटवलमा १, नवलपरासीको बर्दघाटमा २ गरी ८ वटा चार्जिङ स्टेसन रहने भएका छन् । यस्तै, कर्णाली प्रदेशमा सुर्खेतमा १ र सुदूरपश्चिम प्रदेशमा ३ वटा चार्जिङ स्टेसन रहने छन् ।

एसियाली विकास बैकको सहयोगमा निर्माण गर्न लागिएको चार्जिङ स्टेसन एक वर्षभित्रमा सक्ने गरी ठेक्का सम्झौता गरिएको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताएका छन् । उनका अनुसार चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत आपूर्तिका लागि ५० केभीएको ट्रान्सर्फमर, अनलाइन विलिङ प्रणालीको जडान गरिनेछ ।

चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०÷६० किलोबाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरु राखिने भएको छ । ३ सयभन्दा बढी चार्जरलाई सेवा दिन सक्नेगरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिने छ ।


चार्जिङ स्टेसन मुख्य राजमार्ग, बसपार्क र ठूला शहरहरुमा राखिने छ भने काठमाडौं उपत्यकामा ७ वटा चार्जिङ स्टेसन राखिने भएको छ ।

यस्तै, प्रदेश १ मा झापाको दमक, भद्रपुर, कन्काई, मोरङको विराटनगर र सुनसरीको इटहरीमा गरी ५ वटा स्टेसन रहनेछन् भने २ नम्बर प्रदेशमा पर्साको वीरगंञ्ज, बाराको सिमरा, रौतहटको चन्द्रनिगाहापुर, धनुषाको ढल्केबर तथा जनकपुरधाम, महोत्तरीको बर्दिबास र सप्तरीको राजविराज गरी ७ वटा चार्जिङ स्टेसन स्थापना हुनेछन् ।

यस्तै, बागमतीमा धादिङको मलेखुमा २ वटा, विपी राजमार्गको सिन्धुलीमा २ वटा, हेटौंडामा २, भरतपुरमा २ र कुरिनटारमा ४ तथा बनेपामा १ वटा चार्जिङ स्टेसन स्थापना गरिने भएको छ ।

यस्तै, गण्डकीमा नवलपुर, दमौली, स्याङजामा १र१ र कास्कीको पोखरामा ३ वटा चार्जिङ स्टेशन रहनेछन् ।

Next Post

भेरी अस्पतालको आइसोलेशन भरियो, भर्ना लिन बन्द

१ बैशाख २०७८, बुधबार १५:१७
नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालले थप कोरोना संक्रमितलाई आइसोलेशसनमा राख्न नसक्ने भएको छ । अस्पतालको आइसोलेशन संक्रमितले भरिए पछि भेरी अस्पतालले थप कोरोना संक्रमितलाई राख्न नसक्ने भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) का फोकल पर्सन तेजबहादुर ओलीले बताए । उनले भेरी अस्पतालको ६५ बेड मध्ये ३० चैतसम्म ६२ वटा […]