नेपालगञ्ज: बाँके जिल्लाका ८ वटै स्थानीय तहमा हात्तीपाइले रोगबिरुद्धको आमऔषधि सेवन सुरु भएको छ । बाँके जिल्लामा ५ लाख ७६ हजार ७६ जनालाई हात्तीपाईले रोगबिरुद्धको औषधि खुवाउने लक्ष्य छ ।
सबैभन्दा धेरै नेपालगन्ज उपमहानगरपालिकामा १ लाख ६६ हजार ८ सय ८६ जना र सबैभन्दा कम नरैनापुर गाउँपालिकाका ४० हजार ८ सय ४३ जनालाई हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउने लक्ष्य छ ।
यस्तै राप्तीसोनारीका ७० हजार ८ सय ८४ जना, बैजनाथ गाउँपालिकाका ६४ हजार ५ सय ४८, खजुराका ५९ हजार ८ सय ६८, जानकीका ४४ हजार १ सय ९९, डुडुवा गाउँपालिकाका ४३ हनार ४ सय ७८ र कोहलपुर नगरपालिकाका ८५ हजार ३ सय ७० जनालाई औषधि खुवाउने लक्ष्य लिइएको छ ।
आजदेखि सुरु भएको अभियान बाँकेमा ११ औं पटक हो । हात्तिपाइले रोगविरुद्धको औषधि नखाइदिएका कारण जिल्लामा हात्तिपाइले रोग विरुद्धको अभियान जारी छ । बाँकेमा औषधि खाने दर ७४ प्रतिशत मात्रै छ । ग्रामीण क्षेत्र भन्दा सहरी क्षेत्र र पढेलेखेकै मानिसहरुले औषधि नखाइदिने गरेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले बताए ।
नेपालगन्ज, कोहलपुर, खजुरालगायतका सहरी क्षेत्रमा औषधि सेवन गर्नेको संख्या कम छ । शत्प्रतिशत औषधी सेवन गराउने पालिकालाई जिल्ला समन्वय समितिले २५ लाख रुपैयाँ पुरस्कार घोषणा गरेको छ ।
गर्भवती, सुत्केरी र सिकिस्त बिरामी बाहेक २ वर्षमाथिका सबैले औषधि सेवन गर्न सक्ने जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । आजदेखि बाँके सहित १२ जिल्लामा हात्तिपाइले रोग विरुद्धको औषधि अभियान सुरु भएको हो ।