पर्यटनको सम्भावना र विकासका लागि पहल गर्दै राप्तीसोनारी गाउँपालिका

रुद्र सुवेदी १७ चैत्र २०७७, मंगलवार १२:२१
 


राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउपालिका पर्यटकिय संभावना भएको गाउपालिका हो । यहाँ राप्तीनदी, बाँके राष्ट्रिय निकुञ्ज, चुरे पर्वतजस्ता प्राकृतिक मनोरमको स्थान छन् । यसका साथै जिल्ला कै दोस्रो प्राचीन मन्दीरको रुपमा भुँवरभवानी मन्दिर छ । जहाँ नेपाली मात्रै नभएर भारतबाट पनि श्रद्धालु भक्तजन विषेश पूजाआजा गर्न तथा मनोरम छटासंग रमाउन आउने गरेका छन् ।

नेपालगञ्जबाट फत्तेपुरको बाटो हुँदै भुँवरभवानी मन्दीरसम्म पुग्नको लागि ३३ किलोमिटरको दुरी तय गर्नुपर्छ भने पूर्वपश्चिम राजमार्गको अगैया पुगेपछि सिक्टा बाँध तरेर करिव ६ किलोमिटरको यात्रा गरेपछि पुगिन्छ भुँवरभवानी मन्दीरमा । वरिपरी बनजंगलको बीचको थुम्कोमा रहेको यस मन्दिर परिसरमा धार्मिक आस्थाका व्यक्ति मात्र नभए घुम्नको लागि पनि आउने गरेको पाईन्छ ।

मन्दिर कहिले निर्माण भयो आधिकारीक तिथि मिति नभए पनि करिव ३ सय वर्ष अघि निर्माण गरिएको अनुमान स्थानीयको छ । २०१३ सालमा यसको पहिला पटक जिर्णोद्वार गरिए पछि विभिन्न चरणमा यसमा निर्माणका कामहरु हुँदै आएको पाईन्छ । पछिल्लो चरणमा राप्तीसोनारी गाउपालिकाको लगानीमा भुँवरभवानी मन्दीर क्षेत्रमा शिवमन्दीर निर्माण गरी गत महाशिवरात्रीमा विधिवत पूजाआजा गरी उद्घाटन समेत गरीएको छ ।

धार्मिक पर्यटकिय क्षेत्रको रुपमा भुँवरभवानी मन्दीर बाँके जिल्ला कै प्रचीन मन्दीर नेपालगञ्जको बागेश्वरी मन्दीर पछिको दोस्रो पुरानो मन्दीरको रुपमा चिनिन्छ । यो मन्दिर बनको नजिक भएको कारण बन्यजन्तु तथा रोग ब्याधबाट स्थानीयलाई जोगाउन स्थापना गरिएको भन्ने जनविश्वास रहेको भुँवरभवानी तथा बागेश्वरी मन्दीर संरक्षण समितिका अध्यक्ष समेत रहेका स्थानीय तुलसीराम थारुले जानकारी दिए ।

उनले यस मन्दिरमा चलाईएको पुजा तथा चलनको बारेमा बताउदै मन्दीर स्थापना गरी पूजा सुरु गरे पछि कुनै पनि अपृय घटना नभएको दाबी गर्दै भने–‘हाम्रा पूर्खाले यहाँ रोगब्याधसंगै जंगली जनावरबाट जोगिनको लागि एक सिद्ध पुरुषको सल्लाह अनुरुप माताको मन्दीर स्थापना गरेका हौ । पहिला  थारु  समुदायको पुजारी राखेर सामान्य रुपमा पूजा चलाईन्थ्यो । तर अहिले अन्य समुदायको पुजारी राखिएको छ ।’

उनले यस मन्दीरमा वर्षको दुई पटक पञ्च बलि दिने र माघी सक्रान्तिको बेलामा मेला लाग्ने गरेको बताए । यो मन्दीरमा भारत तथा नेपालका विभिन्न स्थानका भक्तजनहरु पूजा आजाको लागि आउने गरेको बताए । स्थानीय भगत समाजका अध्यक्ष खुसलाल थारुले मन्दिरको परिसरमा गाउपालिकाद्वारा शिव मन्दीर निर्माण गरेर संस्कृति संरक्षणमा आफुहरुलाई ठूलो गुण लगाएको बताए । उनले मन्दीरमा खानेपानी र अन्य सेवा सुविधाको विकास गर्न आवश्यक रहेको औल्याए ।

राप्तीसोनारी गाउपालिकामा जनप्रतिनिधि वाहाली भएपछि गाउपालिका र वडाले आफ्नो ठाँउमा भएका धार्मिक तथा पर्यटकिय क्षेत्रको सम्भाव्यतालाई ध्यानमा राखेर त्यसको विकासको लागि पहल गर्दै आएको बताउछन राप्तीसोनारी गाउपालिका वडा नं. १ का वडा अध्यक्ष चन्द्रबहादुर वली । वडा नं. १ मा ओरालघारी गुफा, गाईलेक, खस्रेताल, सिद्धेश्वर महादेब, शतिभवानी मन्दीर लगायका धार्मिक तथा पर्यटकिय क्षेत्र रहेको उनले जानकारी दिए ।

भुँवरभवानी मन्दीरलाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने उदेश्यले प्राथामिकतामा राखेर बजेट विभियोजन गरेको बताउछन वडा नं. ३ का वडा अध्यक्ष गंगाराम थारु । उनले मन्दीरको संरक्षणको लागि तारबार तथा अन्य संरचनामा पनि ध्यानमा राखेको बताए । राप्तीसोनारी गाउपालिका वडा नं. ४ का वडा अध्यक्ष कान्छा थारुले आफ्नो वडामा गोपाल कुटी मन्दीर सबै भन्दा पुरानो मन्दीर रहेको जानकारी दिदै पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नको लागि पहल गरिएको बताए ।

राप्तीसोनारी गाउपालिकामा राप्तीनदीमा ¥याफ्टिङ्ग, बाँके राष्ट्रिय निकुञ्ज अवलोकन, गाईलेक, भुवरभवानी मन्दीर, ओरालघारी गुफा, खर्सेताललगायतका ठाँउहरु धार्मिक पर्यटकिय क्षेत्रको रुपमा रहेको बताउदै गाउपालिका अध्यक्ष लाहुराम थारुले यहाँ भौतिक पूर्वाधार निर्माण, संरक्षण र प्रचार प्रसार गर्नसके ठूलो सम्भावना हुनसक्ने बताए ।

भुँवरभवानी मन्दीरमा माघमा लाग्ने मेला भर्न भारतको विभिन्न स्थानबाट पैदल हिडेर मानिसहरु आउने गरेका छन् । यो क्षेत्रमा हाईकिङ्ग र ट्रेकिङ्गको पनि संभावना रहेकोले पालिकाले प्याकेज तयार गरेर यसको विकासको लागि पहल गर्ने बताउनु हुन्छ अध्यक्ष थारु ।

उनी भन्छन–‘राप्तीसोनारी गाउपालिकामा पर्यटनको प्रसस्त संभावनाहरु छन तर हामीले कसरी सुरुवात गर्ने भन्ने अलमलमा परेका छौ तर, पनि यसको विकासको लागि पहल सुरु गरीसकेको छौ ।’ राप्तीसोनारी गाउपालिकाले राप्ती नदीमा ¥याफ्टिङ्गको लागि संभावना देखेर केही तयारी समेत अघि बढाएको छ भने बाँके राष्ट्रिय निकुञ्ज पनि अर्को प्रचुर संभावनाको क्षेत्र हो ।

गाउपालिका अध्यक्ष थारुले शिवरात्रीको अवसर पारेर भुँवरभवानी मन्दीर परिसरमा शिवमन्दिरको समेत उद्घाटन गरे । पालिकामा घुम्न आउने पर्यटकलाई लक्षित गरेर होटल रिसोर्टको रुपमा सञ्चालन गर्न सके रोजगार तथा अवसर सृजना गर्न सक्ने भन्दै विभिन्न वडामा घरबास (होमस्टे) को समेत अवधारणा ल्याई अघि बढेको अवस्था जानकारी गराए ।

राप्तीसोनारीमा पर्यटनको प्रचुर संभावना भए पनि यसको बारेमा केन्द्र र प्रदेश सरकारले हातेमालो गर्न सके निश्चय पनि यहाँको बिकासले ठूलो फड्को मार्ने विश्वास गरिएको छ ।

Next Post

समुहमा आबद्ध कोहलपुरका महिलाहरु आयआर्जनतर्फ आकर्षित हुँदै

१७ चैत्र २०७७, मंगलवार १२:२१
कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिकाले विभिन्न वडाका गृहणी महिलालाई लक्षित गरी उनीहरुलाई आयआर्जनसंग जोड्ने उद्देश्यले समुहमा आबद्ध गाउदै व्यवसायिक बाख्रा पालनतर्फ आकर्षित गरेको छ । कोहलपुर नगरपालिकाका विभिन्न ९ वटा वडाका २० मूल समुह र ६० बहिनी समुह अर्थात उपाहार समूह निर्माण गरी करिव २ हजार विपन्न, दलिात तथा […]

सम्बन्धित