बाँकेमा कोइला अभाव, मारमा इँट्टा उद्योगी

सदरलाइन संवाददाता ६ चैत्र २०७७, शुक्रबार १४:५२
 

नेपालगञ्ज : बाँके लगायत आसपास जिल्लाका इँट्टा ब्यवसायी समस्यामा परेका छन् । भारतले कोइला ल्याउन रोक लगाएपछि यस क्षेत्रका इट्टा ब्यवसायी समस्यामा परेका हुन् । इँट्टाको सिजन भएकै बेला भारतले इँट्टा पकाउन प्रयोग हुने कोइला ल्याउन नदिएपछि तयार भएको काचो इँटा पकाउन नसकेको चाँद इँट्टा उद्योगका सञ्चालक चाँद खानले बताए ।

उद्योगीले इँट्टा पकाउनका लागि झारखण्ड र बङ्गालबाट कोइला ल्याउने गरेका छन् । भारत सरकारले कोइला अभाव भएको बहाना बनाएर ल्याउन रोक लगाएको उनले बताए । इँट्टा तयार छ, तर कोइला नभएर भट्ठामा हाल्न सकेका छैनौँ,’ उनले भने, ‘पानी पर्यो भने गलेर सत्यानाश हुने डर छ ।’

बाँके, बर्दिया, दाङ, सुर्खेतका इँट्टा उद्योगीले भारत र तेस्रो मुलुकबाट कोइला ल्याउने गरेका छन् । भारतले आफ्नो देशको मात्र नभई तेस्रो मुलुकबाट आउने कोइला समेत ल्याउन नदिएको गुड्डु इँट्टा उद्योगका गुड्डु कसगरले बताए । उनले इँट्टा पकाउन प्रयोगमा आउने हुने ब्रिगेड समेत भारतले ल्याउन नदिएको बताए । ‘उखु मिलबाट निस्केको फोहरबाट बनेको ब्रिगेड समेत भारतले ल्याउन नदिँदा हामी समस्यामा परेका छौँ,’ उनले भने ।

बाँकेमा मात्र ६० वटा इँट्टा उद्योग सञ्चालनमा छन् । भारतले ८ मार्च, २०२१ देखि कोइला ल्याउन नदिएको किसान इँट्टा उद्योगका संचालक रज्जव अलिले बताए । उनले कोइला नपाउँदा १० लाख काचो इँट्टा बाहिर रहेको बताए । कोइलाका लागि पटक–पटक भारत गए पनि ल्याउन नपाएको उनले गुनासो गरे ।


‘कोइलाका लागि भारतीय अधिकारीसँग विन्तिभाउ चढायौँ, तर हाम्रो कुरा सुनुवाई भएन्,’ उनले भने, ‘आफ्नो देशमा भएको भए भनसुन गर्न हुन्थ्यो । अर्काको देशमा बोल्न डर लाग्छ । ल्याउन नदिएपछि कुनै सीप नचलेर लुरुलुरु घर फर्किनुको विकल्प भएन ।’

नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले पनि एक हप्तादेखि भारतबाट कोइला नआएको बताए । कोइला बोकेका मालबाहक गाडी नआएपछि मात्र भारतले कोइला ल्याउन नदिएको जानकारी पाएको उनको भनाई छ । कोइला ल्याउन भारतले रोक लगाएको भन्ने जानकारीमा आएको छ, तर के कारणले रोकेको हो भन्ने आधिकारिक जानकारी आएको छैन,’ भण्डारीले भने ।

भारतले कोइला ल्याउन नदिए यस क्षेत्रमा इँट्टा अभाव हुने सम्भावना बढेको छ । कोइला ल्याउन नपाए इँट्टाको मूल्य पनि बढ्न सक्ने संकेत उद्योगीले गरेका छन् । कोइला ल्याउन नपाए इँट्टा पकाउन सक्ने अवस्था छैन । इँट्टा पकाउन नसकिए बजारमा अभाव हुने छ । त्यसपछि इँट्टाको मूल्य बढ्ने नै भयो,’ जनता इँट्टा उद्योगका सञ्चालकले भने ।

Next Post

बाँके पूर्ण खोप जिल्ला घोषित

६ चैत्र २०७७, शुक्रबार १४:५२
नेपालगञ्ज : बाँके जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको छ । जिल्लाका आठवटै पालिकाका सम्पुर्ण बालबालिकाहरुले पुर्ण खोप प्राप्त गरेको सुनिश्चितता भएपछि जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको हो । शुक्रबार नेपालगञ्जमा आयोजित घोषणा समारोहमा जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले बाँके जिल्ला पूर्ण खोप जिल्ला भएको घोषणा गरेका हुन् […]