सिरहा मालपोत कार्यालयमा बम विस्फोट, आठ घाइते

सदरलाइन संवाददाता १ चैत्र २०७७, आईतवार १६:२१
 

सिरहा : सिरहाको लहानमा रहेको मालपोत कार्यालयमा आइतवार बम विस्फोट हुँदा एक कर्मचारीसहित आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

कार्यालय सञ्चालन भइरहेका बेला भवनको पहिलो तल्लामा दिउँट्अठो एक बजेतिर बम विस्फोट हुँदा छर्रा लागेर मालपोत कार्यालय लहानमा कार्यरत कर्मचारी ३८ वर्षीय शिवकुमार यादव र लेखापढी व्यवसायी ७८ वर्षीय भोला पाचेमगर घाइते भएका छन् ।

बमकै छर्रा लागेर सेवाग्राही सिरहाको धनगढीमाई नगरपालिका १३ का ३५ वर्षीय दिनेश भण्डारी, लहान नगरपालिका १६ तरेगानाका ५२ वर्षीय लालबहादुर विक, भगवानपुर गाउँपालिका ३ का ५४ वर्षीय बद्रीनारायण यादव, गोलबजार नगरपालिका ४ का ३८ वर्षीय फुलकुमार ठाकुर तथा गोलबजार ६ का ३५ वर्षीय लक्ष्मी राणा र ३५ वर्षीया बेचनी मगर घाइते भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।


घाइतेमध्ये भण्डारी र कर्मचारी यादवको अवस्था गम्भीर रहेकाले उपचारका लागि विराटनगर पठाइएको र बाँकी घाइतेको लहानको सप्तऋषि अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक तपनकुमार दाहालले जानकारी दिए ।

विस्फोटबाट कार्यालयको एउटा कोठामा आगोसमेत लागेको छ । आगो वारुण यन्त्रले तत्कालै नियन्त्रणमा लिएको थियो । डीएसपीका अनुसार घटनास्थलमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्तिमोर्चाको पर्चा, पम्पलेट फेला परेको छ ।

Next Post

रुपन्देहीमा पेस्तोलसहित ३ जना पक्राउ

१ चैत्र २०७७, आईतवार १६:२१
बुटवल : कटुवा पेस्तोलसहित रुपन्देहीमा ३ जना पक्राउ परेका छन् । जिल्लाको मर्चवारी गाउँपालिका ७ कन्चनापुरबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले सम्मरीमाई गाउँपालिका ९ बेतकुइयाका २४ वर्षिय सुरज हरिजन, सोही ठाउँका २३ वर्षिय तौलन हरिजन र सम्मरीमाई ७ भुन्डिहवाका […]