घाइते भएको पाटेबाघ अझै भेटिएन

सदरलाइन संवाददाता १७ फाल्गुन २०७७, सोमबार १६:४६
 

बर्दिया : पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने बर्दिया राष्ट्रिय निकुञ्जभित्र एम्बुलेन्सले ठक्कर दिँदा घाइते भएको वयस्क पाटेबाघ अझै भेटिएको छैन । निकुञ्जभित्र पर्ने राजमार्गको रम्मापुर–सैनवार सडकखण्ड बीचमा पर्ने बबई पुलदेखि पूर्व बुढी खोला नजिक एम्बुलेन्सको ठक्करबाट शनिबार बिहान घाइते भएको पाटे बाघ अझै नभेटिएको निकुञ्ज प्रशासनले जनाएको छ ।

नेपालगञ्जबाट पश्चिम तर्फ जाँदै गरेको से १ च २४२१ नम्बरको एम्बुलेन्सले बुढी खोलानजिक पाटे बाघलाई ठक्कर दिएको थियो । एम्बुलेन्सले बाघलाई ठक्कर दिए लगत्तै एम्बुलेन्स चालकले बाघ घाइते भएको निकुञ्ज प्रशासनलाई खबर गरेका थिए। एम्बुलेन्स चालकले खबर गरेलगत्तै निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र निकुञ्जको टोलीले घाइते भएको बाघको खोजी गरिरहेको छ ।

‘घटनास्थल राजमार्गमा बाघको रगत थियो, एम्बुलेन्समा बाघको रौँहरू पनि टाँसिएको थियो, त्यसैले बाघ आफू पनि जोखिममा र हिँडडुल गर्नेहरूका लागि पनि जोखिम हुने भएकाले घटनास्थल आसपासमा सेनासहित निकुञ्जको टोली खटिएको र घाइते बाघको खोजी भइरहेको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत असीमकुमार थापाले बताए ।

बर्दिया राष्ट्रिय निकुञ्ज मुख्यालय ठाकुरद्वाराबाट घटनास्थलतर्फ घाइते बाघको खोजीका लागि ३ वटा हात्ती सहितको टोली र स्वीप गस्ती समेत खटिएको छ। हात्तीको सहायताबाट आइतबार बिहानैदेखि घाइते बाघको खोजी शुरू गरिएको भएपछि अझै नभेटिएको सहायक संरक्षण अधिकृत थापाले बताए। एम्बुलेन्स र चालक निकुञ्जले नियन्त्रणमा लिएको छ ।


पूर्व–पश्चिम राजमार्ग भित्र पर्ने बर्दिया निकुञ्जको अम्रेनी चिसापानी सडकको बीचमा यसअघि बस र कारको ठक्करबाट दुई वटा बयस्क पाटे बाघ मरेका छन् भने मोटरसाइकलमै सवार एक महिलाको ज्यान गएसँगै दुई महिनादेखि लगातार रुपमा राजमार्ग छेउमा पाटे बाघ देखिन थालेका छन् ।

निकुञ्जभित्र पर्ने राजमार्गको दायाँ–बायाँ ३१÷३१ मिटर क्षेत्र तत्कालका लागि झाडी सफा गर्नुपर्ने स्थानीयको माग छ । निकुञ्जभित्र पर्ने राजमार्ग र खाता जैविक मार्ग क्षेत्रमा पर्ने हुलाकी सडकमा यथासक्य छिटो वन्यजन्तुमैत्री संरचना बनाउन संरक्षणकर्मीहरूले माग गरेका छन् ।

यस्तै, निकुञ्ज अन्तरगत पर्ने राजमार्गमा एम्बुलेन्स बाहेकका सवारी साधनमा टाइम कार्ड लागू गरिएको छ । निकुञ्ज अन्तरगत पर्ने राजमार्गको रम्मापुर–सैनवार खण्ड र अम्रेनी चिसापानी खण्डमा टाइम कार्ड लागू गरिएको छ ।

अहिले एम्बुलेन्सले बाघलाई ठक्कर दिएपछि एम्बुलेन्सले बिरामी बोकेको खण्डमा बाहेक अन्य समयमा एम्बुलेन्समा पनि टाइम कार्ड लागू गरिनुपर्ने संरक्षणकर्मीहरूबाट आवाज उठ्न थालेको छ ।

Next Post

गुल्मीमा युवतीको शव बोराभित्र भेटियो

१७ फाल्गुन २०७७, सोमबार १६:४६
गुल्मी : गुल्मीमा एक युवतीको शव फेला परेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–३ स्थित भाडगाउँमा सोमबार युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । सोही गाउँमा गत माघ २९ गते रातिदेखि २१ वर्षीया सम्झना बोहरा बेपत्ता भएकी थिइन् । भेटिएको शव […]