बाँकेमा छुटेकालाई कोरोना खोप लगाउन दुई दिन थपियो

सदरलाइन संवाददाता ९ फाल्गुन २०७७, आईतवार ११:५६
 


नेपालगञ्ज : बाँकेमा दोस्रो चरणमा कोरोना खोप लगाउन छुटेका लक्षित बर्गलाई आइतवार र सोमवार पनि खोप लगाईंदैछ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीका अनुसार खोप लगाउन छुटेकाले आइतवार र सोमवार विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म भेरी अस्पतालमा गएर खोप लगाउन सक्नेछन् ।

पत्रकार, जनपद प्रहरी र जनप्रतिनिधिहरुले लक्ष्य भन्दा कम खोप लगाएकाले उनीहलाई खोप लगाउन आग्रह गरिएको छ । दोस्रो चरणको खोप अभियान फागुन २ गतेदेखि फागुन ८ गतेसम्म चलेको हो ।

बाँकेमा दोस्रो चरणमा ४ हजार ५ सय ६३ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । जुन लक्ष्यको ९५.१६ प्रतिशत हो । दोस्रो चरणमा ४ हजार ७ सय ९५ लाई खोप लगाउने लक्ष्य थियो ।

पहिलो चरणमा भने ४ हजार ९ सय ६७ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका थिए । जुन लक्ष्यको ९९.३४ प्रतिशत हो । पहिलो चरणमा ५ हजारलाई खोप लगाउने लक्ष्य थियो । पहिलो चरण भन्दा दोस्रो चरणमा ४ प्रतिशत कमले खोप लगाएका छन् ।

दोस्रो चरणमा सबैभन्दा बढी बैंक तथा वित्तीय संस्थाका ९ सय १३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । जुन लक्ष्य भन्दा बढी हो । स्वास्थ्यकर्मी, स्थानीय तहका कर्मचारी र प्राधिकरण तथा संस्थानका कर्मचारीले लक्ष्य भन्दा बढीले खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । पत्रकारहरुमा ९० जनाले मात्र खोप लगाएका छन् । जुन लक्ष्यको ९० प्रतिशत हो ।

दोस्रो चरणमा सुरक्षाकर्मी, जनप्रतिनिधि, पत्रकार, निजामती कर्मचारी, बैंक तथा वित्तीय संस्था लगायतलाई लक्षित गरी खोप अभियान चलाइएको थियो । पहिलो चरणमा स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाका अन्य कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, सफाईकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने सुरक्षाकर्मी, बृद्धाश्रमका हेरालु, कैदीवन्दी तथा सुरक्षाकर्मीलाई खोप दिइएको थियो । माघ १४ गतेदेखि २४ गतेसम्म पहिलो चरणमा खोप लगाइएको थियो ।

Next Post

चित्तलको छालासहित बझाङमा एकजना पक्राउ

९ फाल्गुन २०७७, आईतवार ११:५६
बझाङ : बझाङको बुङ्गलबाट चित्तलको छालासहित १ जना पक्राउ परेका छन् । जिल्लाको बुङ्गल नगरपालिका–८ बाट चित्तलको छालासहित स्थानीय रघुवीर बोहरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले बोहरामाथि आवश्यक अनुसन्धान भइरहेको बताए ।