बेपत्ता खत्रीको जंगलमा शव भेटियो

सदरलाइन संवाददाता २ फाल्गुन २०७७, आईतवार १७:०१
 

नेपालगञ्ज : बाँके राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ कचनापुरका २८ वर्षीय हेमराज खत्री मृत अवस्थामा फेला परेका छन् । माघ १४ गतेबाट सम्पर्कविहीन भएका उनको शव शनिबार राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ बिनौनास्थित टटुवाको जंगलमा फेला परेको थियो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले खत्री मृत अवस्थामा भेटिएको पुष्टि गरे ।

स्थानीय महिलाहरु घाँस काट्न जंगल गएका बेला शनिबार बिहान बेवारिसे मोटरसाइकल देखेपछि स्थानीय प्रहरीमा खबर गरेका थिए । प्रहरी पुगेर मोटरसाइकल स्थल वरिपरि खोजेपछि खत्रीको शव नजिकै फेला परेको प्रहरी नायब उपरीक्षक खनालले बताए ।

‘मोटरसाइकल नजिकैको २०(३० मिटरको दुरीमा शव भेटिएको हो’ उनले भने, ‘शवको अवस्था हेर्दा करिव ८र१० दिन अगाडी मृत्यु भएको हुनसक्छ ।’ प्रहरीका अनुसार शरिरमा कुनै घाउ चोटपटक देखिएको छैन ।

घटनास्थलमा तालिमप्राप्त कुकुरको प्रयोग समेत गरिएको छ । घटना केही दिन पहिलेकै हुनसक्ने भएकाले कुकुरले कुनै सूराक नदिएको अनुसन्धानमा संग्लन एक प्रहरी अधिकृतले जानकारी दिए ।


मृतक खत्रीकी पत्नी कल्पना ओलीले केही दिनअघि मात्र नेपालगन्जमा पत्रकार सम्मेलन गरेर आफ्ना पति हेमराजको परस्त्रीसँग सम्बन्ध रहेको र सोही कारणले पटक–पटक घरमा विवाद उत्पन्न भएको बताएकी थिइन् । आफ्नो पतिलाई प्रेमिकाले नै बन्धक बनाएर राखेको हुन सक्ने उनको आशंका थियो ।

परिवार र स्थानीयको बयानको आधारमा एक महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक खनालले बताए । ‘मृतकसँग सम्बन्ध रहेकी भनिएकी महिलालाई नियन्त्रणमा लिएका छौं’ उनले भने, ‘खत्रीको हत्या हो वा होइन भन्ने कुरा पोस्टमार्टम रिपोर्टपछि मात्र खुल्न सक्छ ।’ शव भेटिएको नजिकै एक पिउने पानीको बोत्तल र चाउचाउको खोस्टो समेत फेला परेको उनले जानकारी
दिए ।

खत्रीको हत्या भएको हुनसक्ने आशंकामा सुक्ष्म रुपमा अनुसन्धान थालिएको प्रहरी उच्च स्रोत जनाएको छ । ‘क्राइम सिन हेर्दा कुनै नसालु पदार्थ खुवाएर हत्या गरेको जस्तो देखिन्छ’ उच्च प्रहरी स्रोतले भन्यो, ‘त्यसैले पोस्टमार्टम रिपोर्ट नआएपनि हामीले आफ्नो तर्फबाट अनुसन्धान अगाडि बढाइसकेका छौं ।’

मोटरसाइकल, पानीको बोत्तल, चाउचाउको खोस्टो र शव फरक फरक स्थानमा भेटिएकाले प्रहरीले समेत कुनै नसालु पदार्थ मिसाएको चाउचाउ खुवाई हत्या गरिएको हुनसक्ने आशंका गरेको छ ।

Next Post

सरकार गठनको तीन वर्ष पूरा

२ फाल्गुन २०७७, आईतवार १७:०१
काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठनको तीन वर्ष पूरा भएको छ । राजनीतिक स्थिरता, समृद्धि र सुशासनको नारासहित २०७४ फागुन ३ गते ओली नेतृत्वको सरकार गठन भएको थियो । आफ्नो नेतृत्वको सरकारले स्थिरता, विकास र सुशासनमा चमत्कारपूर्ण काम गरेको प्रधानमन्त्रीको दाबी छ । तर सरकारका काममाथि विभिन्न […]