आयोडिन महिनाअन्तर्गत नेपालगञ्जमा अन्तरक्रिया

सदरलाइन संवाददाता २७ माघ २०७७, मंगलवार १६:४८
 

नेपालगञ्ज : फेब्रुअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाइन्छ । मानव शरीरलाई आवश्यक पर्ने शुक्ष्म पोषक तत्व आयोडिन सेवन गर्न प्रेरित गर्ने उद्देश्यले फेब्रुअरी महिनामा आयोडिनको विशेष चर्चा हुन्छ । नुन मार्फत् नेपालीहरुका भान्सामा आयोडिन पुर्याउने नेपाल सरकारको प्रयासलाई सार्थक बनाउन यो महिनामा अन्तरक्रिया बाक्लै मात्रामा गरिन्छ ।

सोही अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाले मंगलवार पत्रकार र सरोकारवालासंग अन्तरक्रिया गरेको छ । त्यस क्रममा मानव शरीरका लागि आयोडिनको आवश्यकता र महत्वका विषयमा चर्चा गरियो ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड नेपालगञ्ज कार्यालयका प्रमुख मनोज चौधरीले हरेकका भान्सामा दुई बालबालिका चिन्ह अंकित प्याकेटको आयोडिन नुन पुर्याउने प्रयासमा नेपाल सरकार रहेको बताए । भारतबाट आउने खुला नुन खानयोग्य नहुने भन्दै उनले त्यसलाई विस्थापन गर्न अझै आयोडिनयुक्त ढिका नुन उत्पादन गरेर विक्रि वितरण गर्नुपरिरहेको बताए । उनले तरकारीमा पहिले नै नुन राख्दा आयोडिन नष्ट हुने भएकाले अन्तिममा नुन राख्नुपर्ने स्पष्ट पारे ।


नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य निरिक्षक जागेश्वर बस्नेतले मानसिक फुर्ति र शारीरिक शक्तिका लागि आयोडिनयुक्त प्याकेट नुन खानुपर्ने बताउँदै उपमहानगरपालिकाले वडा वडामा जनचेतना जगाउन पर्चा पम्प्लेटमार्फत् प्रचारप्रसार गरिरहेको जानकारी दिए ।

नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका तेज ओलीले आयोडिनको महत्व र आवश्यकताबारे प्रस्तुतिकरण दिँदै अहिले पनि ११.९ प्रतिशतले ढिके नुन र ४.१ प्रतिशतले खुलारुपमा विक्रिका लागि राखिएको नुन प्रयोग गरिरहेको तथ्यांक प्रस्तुत गरे ।

उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष बसन्त गौतमले आयोडिनयुक्त नुन उपभोग गर्न उपभोक्ता जागरुक र सचेत हुनुपर्ने बताए । नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले फेबु्रअरी महिनालाई विशेष अभियानका रुपमा लिएर आयोडिनयुक्त नुनको प्रयोग शतप्रतिशत बनाउन उपमहानगरपालिका क्रियाशील रहेको बताए ।

Next Post

मधेसी आयोगका सदस्य गुप्तालाई नेपालगञ्जमा सम्मान

२७ माघ २०७७, मंगलवार १६:४८
नेपालगञ्ज : संवैधानिक आयोगको रुपमा रहेको मधेसी आयोगका सदस्य विजय गुप्ताले आयोगले मुलुकमा जातीय सद्भाव बढाउन भूमिका निर्वाह गर्ने बताउनुभएको छ । आयोगको सदस्यमा नियुक्त भएपछि गुप्तालाई नेपालगञ्जस्थित सुन्दर काण्ड मित्र मण्डलले सम्मान गरेको हो । सो अवसरमा गुप्ताले आयोगको सदस्यसँगै आफुले सामाजिक सेवाको कामलाई निरन्तरता दिने बताए । गुप्तालाई […]