बाँकेको कोहलपुरमा बोयरजातको बाख्रा स्रोतकेन्द्र स्थापना गर्दै लुम्बिनी प्रदेश सरकार

रुद्र सुवेदी २९ पुष २०७७, बुधबार १६:२८
 


कोहलपुर (बाँके) : लुम्बिनी प्रदेश सरकारले बाँकेको कोहलपुर नगरपालिकाको पिपरीमा व्यावसायिक बाख्रा पालनको लागि उन्नत जातको बाख्रा उत्पादन गर्ने उद्देश्यले बोयर जातको बाख्रा स्रोत केन्द्र स्थापना गर्ने भएको छ ।

कोहलपुर नगरपालिकाका विभिन्न वडाका गृहणी महिलालाई लक्षित गरी उनीहरुलाई आयआर्जनसंग जोड्ने उद्देश्यले लुम्बिनी प्रदेश भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयको ३० लाख र कोहलपुर नगरपालिकाको १० लाख लगानीमा कोहलपुर नगरपालिका वडा नं. ८ को पिपरीमा बोयर जातको बाख्राको स्रोत केन्द्र स्थापना गर्ने भएको हो ।

लुम्बिनी प्रदेश भुमि ब्यवस्था कृषी तथा सहकारी मन्त्री आरती पौडेलले लुम्बिनी प्रदेश सरकारले कोहलपुरको पिपरीमा बाख्रापालनको राम्रो संभावना रहेकोले प्रदेश सरकारले कोहलपुर नगरपालिकासंग सहकार्यमा बोयर जातको बाख्राको स्रोत केन्द्र बनाउने उद्देश्यले बजेट बिनियोजन गरिएको जानकारी दिईन ।

उनले भनिन–‘पिपरीमा बाख्रा पालनको लागि राम्रो संभावना रहेकोले यहाँ बोयर जातको बाख्राको स्रोत केन्द्र स्थापना गर्ने तयरी तीब्र रुपले अघि बढेको छ ।’ उनले प्रदेश सरकारले किसानले पालेका खसीबाख्राको बजारीकरणको लागि पनि प्रदेश सरकारले सहयोग गरी खसीबोका बिक्रिमा प्रतिकिलो २५ रुपैया किसानलाई प्रोत्साहन दिने, दुध, तरकारी, उत्पादन गर्ने किसानलाई यसैगरी उत्पादन बिक्रिमा प्रतिकिलोका दरले प्रोत्साहन अनुदान दिने नीति तयार गरी कार्यान्वयनको तयारीमा रहेको जानकारी दिईन ।

मन्त्री पौडेलले कोभिड–१९ ले धेरैलाई बेरोजगारी बनाएको प्रसंग उल्लेख गर्दै उनीहरुलाई रोजगारी दिने उदेश्यले प्रदेश सरकारले कोभिड–१९ बिशेष कायर्क्रमलाई समेत अगाडि बढाएको बताईन । उनले सामुहिक रुपमा स्मार्ट कृषिलाई अगाडी बढाउनु पर्नेमा जोडदिदै प्रदेश सरकारबाट कृषकहरुका लागि व्याज अनुदान दिने, करार अनुदान, प्रोत्साहन अनुदान गरी ३ प्रकारका अनुदान कार्यक्रम सञ्चालनमा ल्याएको बताईन ।

कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले कोहलपुर नगरपालिकाले लुम्बिनी प्रदेश सरकारसंगको सहकार्यमा पिपरीमा बोयरजातको बाख्राको स्रोत केन्द्र स्थापना गर्न लागिएको बताए । उनले पिपरीमा स्थापना गरिने बोयर जातको बाख्रा स्रोतकेन्द्रले बाख्रा पालनमा रहेका किसानलाई सहयोग पुग्ने स्पष्ट पारे ।

उनले नगरपालिकाले बिपन्न तथा आर्थीक रुपले पछाडी परेका र समुहमा आबद्ध रहेका गृहणी महिलाको आर्थिक अवस्था उकास्न प्रदेश सरकारको सहयोगमा बाख्रा स्रोत केन्द्र स्थापना गर्नुको साथै नगरपालिकाले उनीहरुलाई बाख्रा पैचो कार्यक्रम मार्फत बाख्रा बितरण समेत गरेको बताए ।

उनले उपाहारमा प्राप्त गरेको बाख्राबाट आम्दानी गरी महत्वपुर्ण काममा लगानी गरेर आर्थीक स्थिति उकास्न सकिने दाबी गर्दै भने–‘गृहणी महिलालाई आयआर्जनमा जोड्नको लागि हेफर मोडलमा बाख्रा बितरण गरीएको हो । यसबाट सामान्य रुपमा आम्दानी गरी आफ्नो घरखर्च चल्नसक्ने भएकोले कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।’

कोहलपुर नगरपालिकाले नगरका विभिन्न वडाहरुमा हेफर मोडलमा महिला उपकार मञ्चसंगको समन्वयमा बाख्रा पैचो कार्यक्रम सञ्चालन गरेको छ । नगरपालिकाको वडा नं. १,२,३,७,८,१०,१२,१३,१४ का २ हजार गृहणी महिलालाई विभिन्न ८० वटा समूह निर्माण गरी बाख्रा पैचो कार्यक्रम सञ्चालन गरेको हो । स्थानीय जातका बाख्रा मात्रै पाल्दै आएका किसानलाई पिपरीमा स्थापना हुने बोयरजातको बाख्रास्रोत केन्द्रले ठूलो लाभ हुने स्थानीय भिमबहादुर नेपालीको विश्वास छ ।

कोहलपुर नगरकार्यपालिका सदस्य समेत रहेका नेपालीले उपाहारमा प्राप्त गरेका बाख्राबाट उत्पादन भएको पहिलो पाठी १८ महिना पछि अर्को महिला समुहलाई उपाहार दिनुपर्ने नियम रहेको बताए । कोहलपुर नगरपालिकाले यसवर्ष १ सय ५० वटा बाख्रा र १० वटा बोका र गत वर्ष सोही कार्यक्रम अन्तरगत १ सय ५० बाख्रा र ३० बोका बितरण गरेको जनाएको छ । कोहलपुरको पिपरीमा प्रदेश सरकारको आर्थिक सहयोगमा बोयरजातको बाख्राको स्रोत केन्द्र स्थापना गर्ने भएपछि यहाका किसान हर्शित भएका छन् ।

Next Post

बुधबार देशभर चारसय पैतालिस कोरोना संक्रमित थपिदा बाँकेमा आठ थपिए

२९ पुष २०७७, बुधबार १६:२८
नेपालगञ्ज :  नेपालमा बुधबार थप ४४५ जना कोरोना भाइरस संक्रमित थपिदा बाँकेमा पनि ८ थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४ हजार १ सय ५४ जनाको गरिएको पीसीआर परीक्षणमा ४ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा ४ सय १४ जना संक्रमणमुक्त […]