बाँकेमा आठ सय महिला तथा बालबालिका हराए

सदरलाइन संवाददाता २३ पुष २०७७, बिहीबार १६:३५
 

नेपालगञ्ज : बाँकेमा पछिल्लो तीन वर्षमा ८ सयभन्दा बढी महिला तथा बालबालिका हराएका छन् । भारतसँगको सीमा जोडिएको बाँकेमा पछिल्लो समय महिला तथा बालबालिका हराउने क्रम बढेको हो ।

जिल्लामा पछिल्लो तीन वर्षमा ८ सय ८ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएको भन्दै प्रहरीमा निवेदन परेको छ । जिल्ला प्रहरी कार्यालय अन्तर्गत् महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र बाँकेका अनुसार हराएकामध्ये ८७ प्रतिशत महिला तथा बालबालिका रहेका छन् । केन्द्रको तथ्याङ्कमा बाँकि १३ प्रतिशत बालक र एक प्रतिशत ज्येष्ठ नागरिक रहेको प्रहरीले जनाएको छ ।

केन्द्रकी प्रहरी सहायक निरीक्षक श्यामकुमारी पाइजा मगरका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म ४ सय ८१ महिला, २ सय २० बालिका, ९९ बालक र ८ ज्येष्ठ नागरिक हराएको हुँदा उनीहरुको आफन्तले खोजी गरिदिन केन्द्रमा निवेदन दर्ता गराएका छन् । हराएकामध्ये ६ सय ८२ महिला तथा बालबालिका घर फर्किसकेका छन् भने १ सय २६ जना अझै फेला पर्न नसकेको केन्द्रले जनाएको छ ।


केन्द्रका अनुसार आर्थिक २०७५/७६ मा ३ सय ७०, २०७६/७७ मा ३ सय ११ र २०७७/७८ मा १ सय २७ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएको निवेदन केन्द्रमा दर्ता भएका छन् । तीमध्ये आव २०७५/७६ मा ३, २०७६/७७ मा ३१ र २०७७/७८ मा ९२ जना हराएका महिला तथा बालबालिका घर फर्किसकेको सहायक निरीक्षक मगरले जानकारी दिए ।

बाँकेमा आर्थिक वर्ष २०७७/७८ मा १ सय २७ महिला तथा बालबालिका हराएका छन् । चालू आर्थिक वर्षको पुस तेस्रो सातासम्म हराउनेमा ८० महिला, ४६ बालबालिका तथा एक जना ज्येष्ठ नागरिक रहेका छन् । ती मध्ये ९२ महिला तथा बालबालिका घर फर्किसकेको प्रहरीले जनाएको छ । हराएकामध्ये अधिकांश महिला तथा बालबालिका बेचबिखनमा परेको हुन सक्ने अनुमान प्रहरीको छ ।

Next Post

भेरी नदीमा बस खस्दा एकको मृत्यु, एक बेपत्ता

२३ पुष २०७७, बिहीबार १६:३५
सुर्खेत : छिन्चु–जाजरकोट खण्डको गरालेस्थित गौडाबाट भेरी नदि बस खस्दा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाईते भएका छन भने एक वेपत्ता भएका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिका ९ गराले बजार नजिकै गौडामा बिहीबार दिउँसो ३ बजे बस दुर्घटनामा परेको हो । नदीमा डुवेको बसबाट एक […]