राजा वीरेन्द्रको मंगलवार ७६औं जन्मजयन्ती

सदरलाइन संवाददाता १४ पुष २०७७, मंगलवार ०९:०९
 

नेपालगञ्ज : तत्कालिन राजा स्वर्गीय वीरेन्द्र शाहको ७६ औँ जन्मजयन्ती मंगलवार उनको सम्झना गरि मनाईदै छ । बुवा महेन्द्र तथा आमा इन्द्र राज्य लक्ष्मीदेवी शाहको कोखबाट वीरेन्द्रको जन्म २००२ साल पुस १४ मा भएको थियो ।

स्वर्गीय राजा वीरेन्द्रको जन्म जयन्तीका दिन राजधानीको हनुमानढोका, मखन पशुपतिनाथमा माल्यार्पण तथा विशेष पूजाको आयोजना गरि मनाइँदै छ ।

विसं २०२८ सालमा नेपालको राजा बनेका उनले २०४६ सालको जनआन्दोलन पछि प्रजातन्त्रको पुनर्बहाली गर्ने निर्णय गरेका थिए । त्यसपछि देशमा बहुदलीय व्यवस्था आएको थियो । नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवि बनाएका वीरेन्द्रलाई जन प्रेमी राजाका रुपमा पनि चिनिन्छ ।

इतिहासकै अकल्पनीय घटनाका रूपमा विक्रम संवत् २०५८ साल जेठ १९ गतेको शुक्रवार नारायणहिटी दरबारभित्र राजा वीरेन्द्रको वंशनाश भएको थियो ।

तत्कालिन रानी ऐश्वर्य, युवराज, दिपेन्द्र अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतिलगायतको हत्या भएको नारायणहिटी हत्याकाण्ड भने अझै रहस्यमय छ । त्यो दिनलाई नेपाली जनताले अहिले पनि कालो दिनका रूपमा सम्झिरहेका छन् ।


राजा वीरेन्द्रको निधन पछि नेपाली राजनीतिमा ठूलो परिवर्तन भयो । त्यसपछि राजा बनेका तत्कालिन राजा ज्ञानेन्द्रले विसं २०५९ असोज १८ गते जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी आफुखुशी कार्यकारी प्रमुख तोक्न थालेका थिए ।

आफुखुशी तोकिएका प्रधानमन्त्रीबाट समेत सन्तुष्ट नभई २०६१ माघ १९ गते मन्त्रिपरिषद्को अध्यक्षसमेत राजा नै बनेपछि आम मानिसमा राजतन्त्रप्रति वितृष्णा बढ्दै गयो । २०६३ वैशाख ११ गते लोकतन्त्र आयो ।

लोकतन्त्र स्थापना भएपछि त्यसै २०६३ साल जेठ ४ गते बसेको प्रतिनिधिसभाको बैठकले राजतन्त्र निलम्बनसहित महत्वपूर्ण ऐतिहासिक घोषणा गरेको थियो । यही घोषणा बमोजिम पहिलोपटक २०६४ चैत २८ गते पहिलो संविधानसभाको निर्वाचन भयो ।

संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा २४० वर्षे राजतन्त्रको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यो । अहिले फेरि जनतामा दलहरु प्रति वितृष्णा बढ्दै जाँदा राजतन्त्र पुनः स्थापनाको माग हुन थालेको छ ।

Next Post

बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु

१४ पुष २०७७, मंगलवार ०९:०९
नेपालगञ्ज : बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । सुर्खेतको लेकबेसी ९ का ७३ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मंगलवार बिहान साढे ४ बजे मृत्यु भएको हो । पुष १२ गते अस्पताल भर्ना भएका उनको १३ गते स्वाब जाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि […]