नरैनापुरमा औद्योगिक ग्राम निर्माण हुँदै

सदरलाइन संवाददाता ८ पुष २०७७, बुधबार १६:४७
 

नरैनापुर (बाँके) : बाँकेको नरैनापुरमा औद्योगिक ग्राम निर्माण हुने भएको छ । लुम्बिनी प्रदेश सरकारले नरैनापुरमा औद्योगिक ग्राम निर्माणका लागि डिपिआर गर्न बजेट छुट्ट्याएपछि प्रक्रिया अघि बढेको हो ।

त्यसका लागि प्रदेश सरकारले १५ लाख रुपैयाँ छुट्ट्याएको छ । औद्योगिक ग्राम बनाउन यसै आर्थिक बर्षभित्र डिपिआर गरिसक्ने घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख जयराम थारुले बताए ।

वडा नम्बर ४ मा ५० विगाहा बढी जग्गामा औद्योगिक ग्राम स्थापना गर्ने गरी व्यवस्थापन भइरहेको थारुको भनाई छ । “यसै आर्थिक बर्षमा डिपिआर हुन्छ, जिल्ला समन्वय समितिको सिफारिसमा प्रदेश सरकार मार्फत् यस बर्ष नरैनापुमा औद्योगिक ग्राम स्थापनाका लागि काम अघि बढ्दैछ, गत बर्ष बाँकेमा खजुराबाट औद्योगिक ग्राम स्थापनाको काम शुरु भएको छ,“ प्रमुख थारुले भने–“हामीले भखैरै औद्योगिक ग्राम निर्माण स्थलको अनुगमन गरेका छौं ।“

गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, घरेलु तथा साना उद्योग कार्यालय प्रमुख थारु, उद्योग अधिकृत मोहन सुवेदी लगायतले निर्माणस्थलको अनुगमन गर्नुभएको हो । लुम्बिनी प्रदेश सरकारको घरेलु, साना तथा मझौला उद्योग मार्फत् रोजगार सिर्जना गर्ने र क्षेत्रगत असन्तुलन कम गर्दै जाने नीति अनुरुप ‘एक निर्वाचन क्षेत्र, एक औद्योगिक ग्राम स्थापना’को कार्यक्रम अन्तर्गत नरैनापुरमा पनि प्रक्रिया अघि बढेको हो ।


सबै उद्योगहरु एकै ठाउँबाट सञ्चालन गर्ने उद्देश्य अनुरुप प्रदेश सरकारले यो अवधारणा अघि बढाएको हो । नरैनापुरमा हुलाकी सडक निर्माण सम्पन्न भएर विद्युतीकरण पनि भइरहेकाले औद्योगिक ग्राम स्थापनाको कार्यले सार्थकता पाउनेछ ।

औद्यागिक ग्राम स्थापनापछि नरैनापुर ग्रामीण औद्योगिकीकरणको दिशामा अघि बढ्ने अध्यक्ष शाहले बताउनुभयो । स्थानीय उत्पादनले बजार पाउनुका साथै रोजगारी सिर्जना हुने भएकाले नरैनापुरको विकास र समृद्धिका लागि औद्यागिक ग्राम कोशेढुंगा सावित हुने अध्यक्ष शाहको विश्वास छ ।

गाउँपालिकाले यसअघि प्रदेश योजना आयोगमा डेलिगेशन गएर औद्योगिक ग्राम स्थापनाको योजना माग गरेको थियो । गाउँ कार्यपालिकाको बैठकबाट निर्णय गरेर प्रदेशमा पठाइसकिएको छ ।

Next Post

भेरीको परीक्षणमा सोह्र संक्रमित थपिए

८ पुष २०७७, बुधबार १६:४७
नेपालगञ्ज : भेरीको परीक्षणमा १६ जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जले बुधवार जारी गरेको विवरणअनुसार बर्दियाका ८० वर्षीय बृद्धसहित १६ जनामा कोरोना पुष्टि भएको हो । बर्दियाका ५, दाङका १ र बाँकेका १० जनामा कोरोना देखिएको अस्पतालले जनाएको छ । अस्पतालले हालसम्म ५१ हजार ६ सय ८१ […]