शीतलहरले तराईको जनजीवन कष्टकर

आलु, गोलभेंडा र तोरी बालीमा डढुवा रोगको प्रकोप

सदरलाइन संवाददाता ४ पुष २०७७, शनिबार १७:०८
 

यदुराज मिश्र/नेपालगञ्ज : जाडो याममा तराईमा देखिने शीतलहरको समस्याले विगत जस्तै यस वर्षपनि बाँके, बर्दियालगायतका जिल्लामा वर्षेनी जनजीवन कष्टकर बन्ने गरेको छ । दिनभरी नै लाग्ने हुस्सु र कुहिराका कारण घाम लाग्न नसकेपछि बढेको चिसोले जनजीवन कष्टकर बनेको हो ।

शीतलहरसँगै बढ्ने कठ्यागिँ्रने जाडोले सर्वसाधारणको दैनिकीमा प्रतिकूल प्रभाव पर्ने गरेको छ । चिसोवाट वृद्धवृद्धा, बालवालिका र दैनिक मजदूरी गरेर जिविका चलाउने वर्ग बढी प्रभावित हुने गरेका छन् ।

पहाडी क्षेत्रका जिल्लामा पारिलो घाम लाग्दा यतिबेला बाँके, बर्दियालगायतका जिल्ला कुहिरो र हुस्सुले ढाकिएका छन् । दिनभरीनै लाग्ने बाक्लो हुस्सुले घाम झुल्किन नपाउँदा सर्वासाधारणलाई बिस्कुन र धोएका लुगा सुकाउनसमेत समस्या भइरहेको छ ।


लामो समयसम्म हुने शीतलहरका कारण देखिने डढुवा रोगको प्रकोपले आलु, गोलभेँडा, तोरीलगायतका बाली नष्ट हुने डर रहेको स्थानीयले बताएका छन् । आलु, गोलभेँडाको खेती पछिल्ला दशकमा व्यवसायिकरुपमा भइरहे पनि वर्षेनी देखिने डढुवा रोगको प्रकोपवाट यी बाली जोगाउन किसानलाई समस्या हुने गरेको छ ।

रातिको तापक्रम तीन डिग्री सेल्सियसभन्दा तल जाने र आद्रता बढ्न गई शीत पर्ने तथा चिसो मौसमको अवस्थामा रहने ढुसी सक्रिय हुन गई बोटमा डढुवाको संक्रमण देखिने गरेको कृषि प्रविधिकको भनाई छ ।

लामो समयसम्म हुस्सु र कुहिरो लागेर धेरै चिसो भइरहँदा ओसिलो जग्गामा गरिएको आलु, गोलभेँडालगायतको बालीमा डढुवा संक्रमको समस्या हुने गरेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

ढुसी नाशक विषादी छर्केर बाली बचाउन सकिने सल्लाह प्राविधिकको छ । यसका लागि क्रिनोकसिल गोल्ड, मेटाल्याक्जेल, एक्रोप्याट वा सेन्टिन नामको ढुसी नाशक बिषादी प्रति लिटर पानीमा डेढ ग्राम मिसाएर बनाइएको झोल एक हप्ताको फरकमा छर्किन सकेमा यो रोगवाट बाली बचाउन सकिने डुडुवा गाउँपालिका वडा नं. ६ का अगुवा कृषक जयपाल मौर्यले बताए ।

Next Post

बैतडीमा ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्युु

४ पुष २०७७, शनिबार १७:०८
बैतडी : बैतडीमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको मेलौली नगरपालिका ९ असुरपाबाट मेलौलीतर्फ आउँदै गरेको सु.प. प्रदेश ०१००२ त ४५७७ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेको हो । दुर्घटनामा परी ट्रयाक्टरमा सवार रहेका मेलौली नगरपालिका–९ का ३२ वर्षीय नारायण भट्ट र […]