सुकुम्बासीको घरमै पुर्जा पुग्छ : ज्ञवाली

सदरलाइन संवाददाता १ पुष २०७७, बुधबार १६:४७
 

खजुरा (बाँके) : भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देविप्रसाद ज्ञवालीले अब सुकुम्बासीको घरमै लालपुर्जा पुग्ने बताएका छन् । खजुरा गाउँपालिकाको आयोजनामा आज आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ज्ञवालीले पहिलेको जस्तो यो आयोगले सुकुम्बासीलाई सदरमुकाम बोलाएर दुख नदिने बताए ।

अहिले आयोगले फरक विधिबाट काम गर्ने बताउँदै उनले स्थानीय तहसंगको साझेदारीमा आयोगले भूमिहीन, अव्यवस्थित बसोबास गरेकालाई घरमै पुर्जा दिने व्यवस्था मिलाइएको उल्लेख गरे । उनले भूमि सम्बन्धी ऐनको आठौं संसोधनमा कानूनी व्यवस्था भए अनुसार आयोगले नयाँ विधि र प्रक्रियाबाट काम गर्ने जनाउँदै अब पालिकास्तरमा इकाई कार्यालय हुने र स्थानीय तह प्रमुखको संयोजकत्वमा सहजीकरण समिति हुने बताए ।

पालिका उपाध्यक्ष सहसंयोजक हुने उक्त समितिमा राष्ट्रिय दलका प्रतिनिधि, कार्यपालिका दलित महिला सदस्य, भूमिहीन संस्थाका प्रतिनिधि सदस्य रहेको समितिले पालिकास्तरमा काम गर्ने आयोगका अध्यक्ष ज्ञवालीले बताए ।

वडास्तरमा समेत सहजीकरण समिति निर्माण भइ सोही समितिले घरमै पुगेर विवरण संकलन गर्ने र पालिकालाई सिफारिस गर्ने पालिकाको वोर्डले जिल्ला र जिल्लाले केन्द्रलाई सिफारिस गरेको १५ दिनभित्र उनीहरुको विवरण जिल्लामा सदर भएर आउने अध्यक्ष ज्ञवालीले बताए ।


उनले यसरी विवरण आए लगतै नापीले नक्सा र मालपोतले श्रेष्ता कायम गरेपछि फेरी पालिकामार्फत घरमै पुगेर लालपुर्जा वितरण गरिने व्यवस्था मिलाइएको उल्लेख गरे ।

यसरी विवरण संकलनका क्रममा सिफारिस गर्नेले गलत मान्छेलाई सिफारिस गरेको खण्डमा २५ हजार जरिवाना हुने र जग्गा लिने व्यक्तिलाई १ वर्ष कैद, जग्गा लिने व्यक्तिको जग्गा जफत, १ लाख जरिवाना हुने कानूनी व्यवस्था भएको पनि अध्यक्ष ज्ञवालीले बताए ।

खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिको अध्यक्षतामा भएको कार्यक्रममा खजुरा क्षेत्रका सबै राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला निकायलगायतका प्रतिनिधिको सहभागिता रहेको थियो ।

यसैवीच खजुरा गाउँपालिकामा स्थापना भएको भूमि सम्बन्धी समस्या समाधान आयोगको इकाई कार्यालयको पनि अध्यक्ष ज्ञवालीले उद्घाटन गरेका छन् ।

Next Post

पत्रकार डेकेन्द्रको हत्यामा संलग्न १६ वर्षपछि प्रक्राउ

१ पुष २०७७, बुधबार १६:४७
दैलेख : द्वन्द्वकालमा मारिएको दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न एक जना फरार अभियुक्तलाई दैलेख प्रहरीले प्रक्राउ गरेको छ । थापाको हत्यामा सलंग्न ठहर भएका जिल्लाको नौमुले गाउँपालिका-३ द्धारीका ५८ वर्षीया हरिलाल पुनलाई प्रहरीले प्रक्राउ गरेको हो । कर्तब्य ज्यान मुद्दामा २०७१ साल मंसिर २१ गते जिल्ला अदालत दैलेखबाट फैसला […]