नतिजा उल्ट्याउन जर्जियाका गर्भनरलाई ट्रम्पको दबाब

सदरलाइन संवाददाता २१ मंसिर २०७७, आईतवार ०८:४०
 

काठमाण्डौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू पराजित भएको राज्य जर्जियाका रिपब्लिकन गभर्नरलाई राष्ट्रपति चुनावको नतिजा उल्ट्याउन पुनः दबाब दिएका छन् ।

नोभेम्बर ३ मा भएको चुनावमा पराजित भएपछि पहिलोपटक जर्जियामा आउँदो जनवरीमा हुने दुई सिनेट सिटको रन–अफ चुनावका लागि सभा गर्न पुगेका ट्रम्पले बिना कुनै प्रमाण धाँधली भएको आरोप लगाउँदै नतिजा उल्ट्याउन भनेका हुन् ।

आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका ट्रम्पले जर्जियामा बाइडेनको जितलाई खारेज गरेर आफ्नो पक्षमा नतिजा उल्ट्याउन गभर्नरलाई दबाब दिएका हुन् ।

जर्जियामा तीन पटक भएको गणनामा बाइडेन विजयी भएका छन् । ट्रम्पले दायर गरेका मुद्दाहरु प्रमाणको अभावमा न्यायाधीशले खारेज गरेका छन् । तर पनि उनले धाँधलीको आरोप लगाउँदै नतिजा उल्ट्याउन भनिरहेका हुन् ।

शृङ्खलावद्ध ट्वीटमा ट्रम्पले जर्जियाका गभर्नर ब्रायन केम्पलाई राज्य संसदको विशेष अधिवेशन बोलाउन आग्रह गरेका छन् ।


ट्रम्पले अझै पनि हार स्वीकार गरेका छैनन् । नोभेम्बर ३ मा भएको चुनावमा राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल कलेज मत चाहिनेमा बाइडेनले ३०६ मत जित्ने निश्चित भएको छ । पपुलर (कुल) मतमा बाइडेन ट्रम्प भन्दा ७० लाख भन्दा बढी मतले अघि छन् ।

गभर्नर केम्पलाई ट्वीट मार्फत राज्य संसदको विशेष अधिवेशन बोलाउन अपिल गरेका ट्रम्पले त्यसको केही घण्टापछि जर्जियामा सिनेटका दुई सिटमा हुने रन–अफ चुनावी अभियानमा पुगेका थिए । उनले त्यस क्रममा पनि प्रमाणबिना धाँधलीको आरोप लगाए र नतिजा उल्ट्याउन दबाब दिए ।

नोभेम्बर ३ को चुनावमा जर्जिया प्रमुख ब्याटलग्राउण्ड राज्यका रुपमा देखिएको थियो । बाइडेनले साँघुरो जित निकालेका छन् । सन् १९९२ पछि पहिलोपटक राष्ट्रपति चुनावमा जर्जियामा डेमोक्र्याट विजयी भएका हुन् ।

राज्यका दुई सिनेट सिटमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत प्राप्त नगरेका कारण रनअफ चुनाव हुँदैछ आउँदो जनवरी ५ मा ।

माथिल्लो सदन सिनेटको शक्ति सन्तुलनका लागि यी दुई सिटमा हुने चुनावमा महत्वपूर्ण छन् । रिपब्लिकन र डेमोक्र्याट माथिल्लो सदनमा आफ्नो नियन्त्रण स्थापित गर्नका लागि यी दुई सिटमा केन्द्रित भएका छन् ।

Next Post

डोटीमा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गयो

२१ मंसिर २०७७, आईतवार ०८:४०
डोटी : डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भिरमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ३ जनाको घटनास्थलमै र एक जना बालकको उपचारका लागि लैजादै गर्दा मृत्यु भएको हो । दुर्घटनामा बोगटान फुड्सिल गाउँपालिका ७ का वडाकासचिव मन्जु त्रिपाठी, उनकी सासू आमा र केआई सिंह गाउँपालिकाका ४० […]