‘कोरोनाविरुद्धको खोप बाध्यकारी हुने छैन’

सदरलाइन संवाददाता २० मंसिर २०७७, शनिबार ०९:४६
 


काठमाण्डौ : अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले अमेरिकीहरुलाई कोरोना भाइरसविरुद्धको खोप लिनका लागि जबरजस्ती बाध्य नपारिने बताएका छन् ।

खोप उपलब्ध भएपछि सबैलाई व्यक्तिगत इच्छाका आधारमा खोप लगाउने सम्बन्धमा निर्णय गर्ने अधिकार हुने बाइडेनले बताएका हुन् ।

यसअघि सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) ले पहिलोपटक घर भित्रै रहँदा पनि मास्कको प्रयोग गर्न सुझाव दिएको थियो । अमेरिका उच्च संक्रमणका दरको चरणमा प्रवेश गरेको भन्दै सिडिसीले घर भित्रै बस्दा पनि मास्क लगाउनु पर्ने बताएको हो ।

शुक्रबार अमेरिकामा कोभिड–१९ बाट २५ सयभन्दा धेरैको ज्यान गयो भने झण्डै दुई लाख २५ हजार संक्रमित थपिए ।

अहिलेसम्म अमेरिकामा कुल संक्रमितको संख्या एक करोड ४३ लाख ३७ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । यस्तै अहिलेसम्म दुई लाख ७८ हजार ६ सय अमेरिकीको ज्यान गएको छ ।

आउँदो जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिने बाइडेनले आफ्नो शपथग्रहण समारोह सीमित व्यक्तिको उपस्थितिमा हुने पनि बताएका छन् ।

तेस्रो चरणको परीक्षणमा ९५ र ९४ प्रतिशत प्रभावकारी देखिएका फाइजर र मोदेर्नाका खोपले अमेरिकामा सर्वसाधारणको प्रयोगका लागि स्वीकृति माग गरी फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनमा निवेदन दिएका छन् ।

बेलायतले फाइजरको खोपलाई स्वीकृति प्रदान गरिसकेको छ । अमेरिकाले डिसेम्बरको मध्यसम्ममा स्वीकृति प्रदान गर्ने सम्भावना छ । गृहराज्य डेलवरको विलमिङ्गटनमा राष्ट्रपतिमा निर्वाचित बाइडेनले कोरोना भाइरसविरुद्धको खोपलाई अनिर्वाय बनाउनु नपर्ने बताएका हुन् ।

उनले भने, ‘राष्ट्रपतिका रुपमा मेरो शक्तिले भ्याएसम्म मैले खोपका लागि सबैलाई जागरुक बनाउने प्रयास गर्ने छु । तर कुन बेला कहाँ खोप लगाउने भन्ने व्यक्तिको निर्णयको कुरा हो ।’

हालै भएको एक अध्ययन अनुसार मात्रै ६० प्रतिशत अमेरिकीहरु कोरोना भाइरसविरुद्धको खोप लगाउनका लागि तयार छन् ।

Next Post

सामुदायिक स्वास्थ्य स्वयमसेविकालाई सम्मान

२० मंसिर २०७७, शनिबार ०९:४६
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाले १७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसका अवसरमा महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरेको छ । शनिवार आयोजित कार्यक्रममा २३ जनालाई सम्मान गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह, उपमहानगरपालिकाका स्वास्थ्य शाखा […]