बाइडेनको जितलाई औपचारिकता प्रदानमा ढिलाई

सदरलाइन संवाददाता ७ मंसिर २०७७, आईतवार ०८:५१
 

काठमाण्डौ : चुनावमा पराजित भएर पनि हार स्वीकार नगरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पार्टीलाई नतिजा उल्ट्याउनका लागि ‘सबै प्रयास’ गर्न बाध्य पारेका छन् ।

प्रमाण बिना ट्रम्पले चुनावमा धाँधलीको आरोप लगाउँदै आफूबाट नतिजा खोसिएको बताउँदै आएका छन् । उनले अदालतमा दायर गरेका मुद्दाहरु लगातार खारेज भइरहेका बेला बाइडेनले जितेको मिसिगन राज्यका रिपब्लिकन अधिकारीहरुले चुनावी नतिजालाई औपचारिकता प्रदान गर्ने समय पछि धकेल्न आग्रह गरेका छन् ।

मिसिगनका अधिकारीहरुले राज्यको इलेक्टोरल बोर्डलाई पत्र लेखेर मतलाई औपचारिकता प्रदान गर्ने समय दुई हप्ता पछि सार्न आग्रह गरेका हुन् ।

उनीहरुले राज्यको सबैभन्दा ठूलो काउन्टी डिट्रोइटमा पुनः मतगणना गर्नु पर्ने माग गरेका छन् । ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाउँदै आफूले जितेको दाबी गर्दै आएका छन् ।

राज्यका रिपब्लिकनहरुले उनकै प्रमाण बिहीन आरोपको पछि लागेर मत परिणामलाई औपचारिकता प्रदान गर्ने समय पछि सार्न भनेका हुन् ।

तर मिसिगनको डिपार्टमेन्ट अफ स्टेटले रिपब्लिकन अधिकारीको आग्रह खारेज गरेको छ । मत परिणामलाई औपचारिकता प्रदान गर्ने समय पछि सार्न कानूनले नदिने डिपार्टमेन्ट अफ स्टेटले जनाएको छ ।


दुई डेमोक्र्याट र दुई रिपब्लिकन रहेको चार सदस्यीय मिसिगन इलेक्टोरल बोर्डको बैठक सोमबार बस्ने र उनीहरुले मतपरिणामलाई औपचारिकता प्रदान गर्ने तयारी छ ।

उनीहरुको निर्णयलाई मिसिगनका सेक्रेटरी अफ स्टेटले प्रमाणिकरण गर्नु पर्छ र त्यसपछि राज्यका गभर्नरले प्रमाणिकरण गर्नु पर्छ ।

ट्रम्प र मिसिगनका स्थानीय रिपब्लिकनहरुले चुनावमा बिस्तारित रुपमा धाँधली भएको आरोप लगाउँदै आएका छन् प्रमाण बिना । स्टेट डिपार्टमेन्टले ती आरोपहरु पूर्ण रुपमा आधारहिन बताएको छ ।

ट्रम्पले शुक्रबार मिसिगन राज्य संसदका दुई नेतृत्वदायी भूमिकामा रहेका सांसदसँग ह्वाइट हाउसमा भेट गरेका थिए ।

ट्रम्पले उनीहरुलाई राज्यमा बाइडेनको जितलाई अस्वीकृत गरि आफ्नो पक्षमा नतिजा घोषणा गर्न दबाब दिएको दाबीसहितका खबर आएका छन् । ह्वाइट हाउसले भने सो कुरा अस्वीकार गरेको छ ।

ट्रम्पसँग भेट गरेका दुई रिपब्लिकन सांसदले सामान्य प्रक्रिया नै पछ्याउने र आफूहरुले नतिजा उल्ट्याउने कुनै पनि प्रमाण नभेट्टाएको बताएका छन् ।

Next Post

बर्दियाका एक संक्रमितको कोहलपुरमा मृत्यु

७ मंसिर २०७७, आईतवार ०८:५१
नेपालगञ्ज : कोरोना संक्रमणबाट बर्दियाका ७७ बर्षीय पुरुषको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको छ । गुलरिया नगरपालिका वडा नम्बर ३ का उनको आइतवार विहान पौने ४ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताए । स्वास्थ्यमा समस्या आएपछि मंसिर ५ गते उपचारका लागि नेपालगञ्ज […]

सम्बन्धित