उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ समापन

सदरलाइन संवाददाता ६ मंसिर २०७७, शनिबार ०८:५६
 


नेपालगञ्ज : उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठपर्व समापन गरिएको छ । शनिवार बिहान देशभर विभिन्न पोखरी, नदी, इनारलगायतको पानीको स्रोत भएको ठाउँबाट व्रतालुले सूर्यलाई अर्घ्य दिएका छन् । माटोको घैला, दियो, ढकनी, सर्वी, हात्ती, पानालगायतका सामग्रीसहित बाँसको कोनिया, ढक्की, नाङ्लोमा केरा, ठकुवा, भुसवा, खजुरीलगायतका परिकार राखेर जलाशयमा शरीर डुबाउँदै उदाउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ ।

कोरोनाको महामारीका कारण कतिपयले भने यसपालि घरको आँगन र छतमा नै कृत्रिम जलाशय बनाएर सूर्यको पूजा आराधना गरेका छन् । कतिपय ठाउँमा भने जलाशयमा नै पुगेर सामूहिक रुपमा नै छठ पर्व मनाएका छन् ।

शुक्रवार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि राति जलाशय, नदी, तलाउ–किनारमा अर्घ्य दिइएका सामग्रीहरू कतिपयले घरमै ल्याएर फेरि शनिवार बिहान झिसमिसमै घाटमा पुर्याउने गर्छन् भने कतिपयले त्यहीँ राखेर रातभर नाचगान र रमाइलो गर्छन् । आज कात्तिक शुक्ल सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पूजा समापन भएको मानिन्छ ।

कात्तिक शुक्ल षष्ठीको बेलुका अस्ताउँदो र सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्यसहित गरिने छठ पूजाले निरोगी हुने, छालाजन्य रोगव्याधि नलाग्ने धार्मिक मान्यता रहेको छ । चार दिनसम्म मनाइने लोकपर्व छठ यसपालि पोहोर परारको भन्दा फरक देखियो ।

कोरोना महामारीका कारण यसपालि पोहोर परारको जस्तो रौनक नभए पनि व्रतालुले विधि पूर्वक पूजा आराधना गरेका छन् । सहरी क्षेत्रमा सामूहिक रुपमा छठ मनाउनेहरुले केही स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरे पनि ग्रामिण क्षेत्रमा मापदण्ड पालना भएको छैन ।

तराईका केही नदी, पोखरी, तलाउमा भने सामान्य अवस्थामा झैँ भीडभाड भएपछि प्रहरी परिचालन गरिएको थियो । कोरोनाको जोखिमका कारण यसपालि सरकारले भीडभाड नगरि पर्व मनाउन आग्रह गरेको थियो ।

Next Post

नेपालगञ्ज म्याराथनको उपधि एपिएफका पार्की र भण्डारीलाई

६ मंसिर २०७७, शनिबार ०८:५६
नेपालगञ्ज : नेपालगञ्जमा आयोजना गरिएको ‘छैठौं नेपालगञ्ज म्याराथन’ मा सशस्त्र प्रहरीको विभागिय टिमले कब्जा जमाएको छ । शनिबार सम्पन्न भएको म्याराथन (पुरुष) तर्फ एपिएफका गोपीचन्द्र पार्की र हाफ म्याराथन (महिला) तर्फ एपिएफ कै पुष्पा भण्डारीले बाजी मारेका हुन । पूरा म्याराथन तर्फ सशस्त्र प्रहरी बलका पार्कीले ४२ दशमलव १९५ किलोमीटरको […]