तिहारको मुख्य दिन सोमवार भाइटीका

सदरलाइन संवाददाता १ मंसिर २०७७, सोमबार ०८:३७
 

नेपालगञ्ज : नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन, सोमवार भाइटीका । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।

यमपञ्चकको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाएर मनाइँदैछ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ । भाइटीकाको टीका आज दिनभर लगाउन सकिने नेपाल पचांग निर्णायक समितिले जनाएको छ ।


साइत खोज्नेका लागि भने मध्याह्न ११ बजेर ३७ मिनेटको समय उत्तम रहेको समितिले जनाएको छ । भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा उत्तरमा रहेको चन्द्रमा दाहिने पर्नेछ । शुभकर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ ।

लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको आज पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाराधना गरिन्छ । त्यसपछि दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परानुसार सप्तरंगी वा पञ्चरंगी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक परम्परा छ ।

Next Post

कञ्चनपुरका कोरोना संक्रमितको बाँकेमा मृत्यु

१ मंसिर २०७७, सोमबार ०८:३७
नेपालगञ्ज : कञ्चनपुरका कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्युु भएको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका ५ का ७४ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा सोमवार विहान मृत्यु भएको हो । उनी लामो समयदेखि मधुमेह र उच्च रक्तचापका विरामी थिए । स्वास्थ्यमा समस्या आएपछि कार्तिक २१ गते महाकाली अस्पतालमा भर्ना भएका उनमा २३ […]