यमपञ्चकको चौथो दिन : गाई तिहार

सदरलाइन संवाददाता ३० कार्तिक २०७७, आईतवार ०९:३३
 


नेपालगञ्ज : यमपञ्चक अर्थात् तिहारको चौथो दिन आइतवार गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ ।

गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो ।

गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा. रामचन्द्र गौतमले जानकारी दिए ।

आधुनिक विज्ञानले समेत स्थानीय गोरस विभिन्नि रोगहरुमा अचुक औषधिका रूपमा प्रयोग गर्दा मानव स्वास्थ्यलाई फाइदा पुग्ने भनी अनुसन्धानबाट प्रमाणित गरेपछि गाईको महत्व अझ बढेको अनुसन्धानमा संलग्न गोब्रती योगी सोमराजले बताए ।

आजैका दिन कृषि कर्म गर्न हलो जोतेर वर्षभर साथ दिने गोरुलाई समेत पूजा गरी मीठो मीठो खान दिने गरिन्छ ।

गोरुको साथमा जोत्ने हलीलाई समेत पूजा गरी खाना खुवाइन्छ । यसैले आजको दिनलाई गाईतिहार र हलीतिहार समेत भन्ने गरिन्छ। आज गाई, गोरु र हलीलाई समेत मीठा कुरा खान दिइन्छ ।

आजैका दिन बेलुकी घर घरमा ‘देऊ शुभ’ भनी देउसी खेल्ने गरिन्छ । देऊ शुभ भन्ने क्रममा अपभ्रंश भई देउसी भएको समितिका अध्यक्ष गौतमले जानकारी दिए ।

Next Post

रोमानियाको अस्पतालमा आगलागी, १० जनाको मृत्यु

३० कार्तिक २०७७, आईतवार ०९:३३
काठमाण्डौ : कोरोना भाइरसबाट संक्रमित भएकाहरुको उपचार हुँदै आएको रोमानियाको एक अस्पतालमा आगलागती हुँदा १० जनाको मृत्यु भएको छ भने केही गम्भीर घाइते भएका छन् । उत्तर–पूर्वी शहर पिएत्रा निभएमतमा रहेको अस्पतालको सघन उपचार कक्षमा आगलागी भएको हो । बिरामीको उद्धार गर्न खोजेका एक डाक्टर जलेर गम्भीर घाइते भएका छन् […]