सहकारी मार्फत खसीबोका खरिद बिक्रि गर्न थालेपछि लाभान्वित हुँदै बाँकेका किसान महिला

रुद्र सुवेदी १२ कार्तिक २०७७, बुधबार १५:१७
 



नेपालगञ्ज  : बाँकेको राप्तिसोनारी गाँउपालिकाका महिला साना किसानहरु आफुले उत्पादन गरेका खसी, बोका र बाख्रा सहकारीद्वारा सामुहिक रुपमा संकलन गरी बजारीकरण गर्न थालेपछि उनिहरु आत्मनिर्भर बन्दै गएका छन् ।

गामिण गृहणी महिलाले पालेका खसी बाख्राले उचित बजार मुल्य नपाई रहेको अवस्थामा उनिहरुले पछिल्लो समय सहकारी मार्फत बजारिकरण गर्न थालेपछी साना किसानहरुको बजारमा पहुँच सुनिश्चित भएको छ । उनिहरुले आफुले उत्पादन गरेका खसि, बोका र बाख्रा ढकेरीमा रहेको सामाजिक उद्यमी महिला जिल्ला सहकारी संघको खसी संकलन केन्द्रमा बेचेर राम्रो आम्दानी गर्ने गरेको बताउछन् ।

बाँकेको राप्तिसोनारी गाँउपालिका वडानं.९ ढकेरीमा रहेको संघर्षशील सामाजिक महिला उद्यमी संघकी अध्यक्ष दुर्गा पौडेलले समुह र सहकारीमा आबद्ध महिला दिदीबहिनीहरुले पालेका खसी, बोका पहिला अन्दाज गरेर बेच्दा अतिनै घाटा व्यहोर्नु परेको सम्झदै भन्छिन–‘पहिला गाउमा आउने व्यापारीले जे मुल्य लगायो त्यसमा अलिकती तलमाथी गरेर बेच्ने गरिन्थ्यो त्यसले निक्कै घाटा हुन्थ्यो तर, अहिले घरबाटै तौलेर तौलको हिसावमा बेच्दा फाईदा हुने गरेको छ ।’

उनले बजारिकरणमा समस्या नहोस् भन्नका लागि आफुहरुले सहकारी मार्फत यो काम सुरु गरेको बताउछिन् । निम्न आयस्तर भएका महिला उद्यमीहरुलाई व्यवसायिक बाख्रा पालनमा आवश्यकता अनुसारको सहयोग स्थानीय सरकारले गरेमा यो व्यावसाय अंझ फस्टाउने अध्यक्ष पौडेल बताउछिन् ।

उनले स्थानीय ग्रामिण महिलाले उत्पादन गरेका खसीबोकाको ढुवानीमा विभिन्न खालका अवरोधले गर्दा आफुहरुलाई निरुत्साहित पार्ने गरिएको गुनासो गर्दै भनिन–‘पछिल्लो केही वर्ष यता हामी जस्ता महिला उद्यमीले पालेका खसीबोकाले जिल्लामा मासुमा आत्मनिर्भर बनाउन पहल गरेको छ । हामीले पालेका खसीबाख्रा ढुवानीमा चुन्द्रेमुन्द्रेदेखि प्रहरी प्रशासनको समेत आँखा लाग्ने गरेकोले अत्यन्तै कठिन बनाएको छ ।’

संघर्षशील सामाजिक महिला उद्यमी संघले गत आर्थिक बर्षमा ६० वटा बाख्रा, २ सय ६२ वटा खसी र २५ वटा बोका बेचेर १८ लाख ८५ हजार ४ सय ७५ रुपैंया बराबरको आम्दानी गरेको थियो । चालु आर्थिक बर्षको असोज अन्तिमसम्म सो सहकारीले ३ सय ६० वटा बाख्रा, ३३ वटा बोका र २ सय ६४ वटा खसी बेचेर ३३ लाख ६५ हजार ७ सय ९० रुपैय बराबरको कारोबार गरेको छ । ७ सय ४८ जना सेयर सदस्य रहेको सो सहकारी २०६८ सालमा स्थापना भए पनि २०७४ सालपछि मात्रै खसीबोका संकलन गरेर बेच्न थालेको हो ।

महिलाहरुलाई ब्यावसायिक बनाएर उनीहरुको जीवनस्तर परिवर्तन गर्न बाख्रा ब्यावसाय केन्द्रले महत्वपूर्ण भूमिका खेलेको पाईएको छ । केन्द्रले महिलाहरुले पालेका खसी बोका र बाख्रा संकलन गरि बेच्दै आएको छ । बाख्रा पालेर यहाँका किसानले राम्रो आम्दानी गरेका छन् । बाख्रापालनबाट आम्दानी बढ्दै गएको देखेर बाख्रा पाल्ने किसान पनि दिनदिनै बढ्दै गएको संघका बजार व्यस्थापक नबिन कुमार शाहुले बताए ।

समुहमा वार सहकारीमा आवद्ध ग्रामिण महिलालाई उद्यमसंग जोड्न विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको भेरी बाताबरणीय विशिष्ठता समुह (बीग्रुप) फिल्ड कोर्डिनेटर रामराज कठायतले बताए । उनले ग्रामिण महिलाको आयस्तर बढाउने उद्देश्यले बाँकेको रोप्तीसोनारी–८ ढकेरीमा हेफर ईन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा संघले सो संकलन केन्द्र निर्माण गरि सञ्चालनमा ल्याएको जानकारी दिए ।

उनले साना किसान तथा ग्रामिण गृहणी महिलाहरुलाई व्यवसायिक तालिम दिएर उनीहरुले उत्पादन गरेको खसि, बोका र बाख्रको संकलन गरी बजारीकरण गर्ने उद्देश्यले सो केन्द्रको स्थापना गरिएको बताए । उनले उद्यमी महिला सहकारी संघको माग अनुसारको खोर बनाउने तथा बाख्रा पालनको बारेमा तालिम, उत्पादनको बजारिकरण, सहकारीका नीति नियम बनाउने लगायतको क्षेत्रमा सहयोग पुराउदै आएको बताए ।

बाँकेको बाख्रा पकेट क्षेत्रको रुपमा परिचित ढकेरी केन्दले हाल जिल्लाका राप्तीसोनारी, १० खजुरा २, बैजनाथ २ र जानकीमा १ वटा सहकारी गरी १५ वटा प्रारम्भिक सामाजिक उद्यमी महिला सहकारीबाट बाख्रा, खसी र बोकाहरु संकलन गरि संघमा पुराउने गरेको छ ।

केन्द्रले साना किसानहरुलाई उद्यमी बनाउने अवधारणका साथ बाख्रा, खसी र बोका बाहेक अन्य कृषि जन्य उत्पादित सामाग्रीहरु पनि संकलन गरेर सम्भावित बजारको खोजी गरी बजारीकरण गर्नमा सहयोग गर्ने तयारी गरेको संघका बजार वयवस्थापक साहुले बताए ।

संघले खसीबोका प्रारम्भिक सामाजिक उद्यमी महिला सहकारीबाट जिउदो ५ सय २० रुपैंया प्रतिकिलो किनेर ५ सय ३० देखि ३५ सम्ममा बेचि रहेको सो संकलन केन्द्रले १ हजार ९ सय ४६ वटा खसी बोका बेचेर ३ करोड ९ लाख ४० हजार ८ सय ६१ रुपैंया ५० पैसा बराबरको कारोबार गरेको जनाएको छ ।

गतवर्ष संघले ३ हजार १ सय ११ वटा खसीबोका बिक्रि गरेर ४ करोड ३० लाख ५२ हजार ९ सय ५७ रुपैयाको कारोबार गरेको थियो । यो वर्ष कोभिड–१९ को कारण खसीबोकाको बजार प्रभावित भएको संघका बजार व्यवसथापक शाहुले बताए । उनले यहाँका खसीबोका काठमाण्डौ र पोखरा पठाउने गरिएको बताए ।

Next Post

राप्तीनदीको कटान रोकथामको लागि पहल गर्दै स्थानीय सरकार

१२ कार्तिक २०७७, बुधबार १५:१७
राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउपालिकाले राप्ती नदीकटानको समाधानको लागि प्रयास थालेको छ । राप्तीनदीले वर्षेनी धार परिवर्तन गर्दै खेती योग्य जमिन कटानले वर्षेनी ठूलो धनजनको क्षती पुराउदै आएपछि प्रभावित स्थानमा तटबन्धको लागि पहल सुरु गरेको छ । गाउपालिकाको बीचबाट पूर्वपश्चिम भएर बग्ने राप्ती नदी पालिकाको प्राकृतिक स्रोत र सम्पत्ति […]