शनिवार महाअष्टमी मनाईंदै

सदरलाइन संवाददाता ८ कार्तिक २०७७, शनिबार ०८:३७
 

नेपालगञ्ज : हिन्दुहरुको महान चाड नवरात्रअन्तर्गत बडादशैंको शनिवार आठौं दिन महाअष्टमी । देवी दुर्गा भगवतीसहित महालक्ष्मी, महाकाली, र महासरस्वतीको विशेष पूजा गरिन्छ ।

आज देवी भगवतीको पूजा गरी बलि चढाउने गरिन्छ । विभिन्न शक्तिपीठहरुमा राँगो, खसी, हाँस, कुखुरा आदिको बलि दिने प्रचलन छ । पशुबलि नदिनेले भने नरिवल, कुभिण्डो लगायतका फलफूल चढाउने गर्छन् ।

घटस्थापनाका दिन विधिपूर्वक स्थापना गरिएको कलश र जमरा राखिएको स्थानमा पूजा गर्ने गरिन्छ । आजकै दिन घरघरमा रहेका हतियार र कलपूर्जाहरु निकालेर पूजा गर्ने परम्परा समेत रहेको छ ।

आज राति हनुमानढोकामा ५४ वटा राँगा र बोकाको बलि दिएर कालरात्री पूजा गर्ने परम्परा रहेको छ ।


नवरात्र अन्तर्गत आज महा दुर्गाको आठौं रुप महागौरीको पूजा गरिन्छ । परमकल्याणकारी र ममता भरिएको महागौरीको पूजा गर्दा पाप नष्ट हुने, दरिद्रता र कष्ट नष्ट हुने धार्मिक विश्वास रहिआएको छ ।

अघिल्ला बर्षहरुमा देशभरका विभिन्न शक्तिपीठहरुमा पूजा गर्ने भक्तजनहरुको घुईंचो लाग्ने गरेपनि यस बर्ष त्यस्तो अवस्था छैन ।

कोरोना संक्रमण जोखिम फैलिन सक्ने तथ्यलाई मध्यनजर गर्दै सरकारले शक्तिपीठ तथा मन्दिरहरुमा नियमित पूजा बाहेक भक्तजनहरुका लागि सार्वजनिक पूजामा रोक लगाएको छ ।

यसैगरी स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरु पालना गरी दशैं मनाउन पनि सरकारले आह्वान गरेको छ ।

Next Post

भेरीको परीक्षणमा १९ जनामा कोरोना पुष्टि

८ कार्तिक २०७७, शनिबार ०८:३७
नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालद्वारा शनिबार जारी विवरण अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा बाँकेका १७ र अन्य जिल्लाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ७१ को नमुना परीक्षण गरिएको थियो । […]