बडा दशैं शुरु, घरघरमा जमरा राखेर घटस्थापना गरिँदै

सदरलाइन संवाददाता १ कार्तिक २०७७, शनिबार १०:२५
 

नेपालगञ्ज : हिन्दु धर्मावलम्बीहरुको महान चाड वडा दशैं शनिवारबाट शुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी आज घटस्थापना गरिंदै छ ।

मलमासका कारण कात्तिक महिनामा परे पनि तिथी अनुसार आज आश्विन शुक्लपक्ष प्रतिपदा तिथी हो । आज सबैले आ–आफ्नो घरको पुजा कोठामा विधिपूर्वक घटस्थापना गर्छन ।

त्यस्तै काठमाण्डौको हनुमानढोकास्थित दशैं घरमा पनि धार्मिक विधिपूर्वक घटस्थापना गरिंदैछ । घटस्थापनाका लागि शनिवार बिहान ११ बजेर ४६ मिनेटको शुभसाइत रहेको पञ्चांग निर्णायक समितिले जनाएको छ ।

दशैंको पहिलो दिन वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी जौको जमरा राखिन्छ । विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्तिस्वस्पा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भनिएको हो ।


आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीको टीकाको दिन पहेंलो जमरासँगै दूर्गा देवीको प्रसाद ग्रहण गर्ने प्रचलन रहेको छ । घटस्थापना गरिएको स्थानमा हरेक दिन अधिष्ठात्री देवी दुर्गाका नौ स्वरुपको पूजा गरिन्छ ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

बडादशैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् । नवरात्रभर दूर्गा सप्तशती चण्डी, श्रीमददेवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुती पाठ गरिन्छ ।

यस अवसरमा देशभरका शक्तिपीठहरुमा पुजाआजाका लागि भक्तजनहरुको घुँइचो लाग्ने भए पनि यस बर्ष कोरोना संक्रमणको जोखिमका कारण सरकारले सबै मन्दिरहरु भक्तजनहरुका लागि खुला नगर्न सूचना जारी गरिसकेको छ ।

Next Post

भेरीको परीक्षणमा २४ जना संक्रमित थपिए

१ कार्तिक २०७७, शनिबार १०:२५
नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २४ जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पतालले शनिवार जारी गरेको विवरणअनुसार बाँके, बर्दिया र दाङका २४ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा २ सय ६१ जनाको स्वाव परीक्षण गर्दा दाङका १, बर्दियाका ५ र बाँकेका १७ जनामा संक्रमण […]

सम्बन्धित