कोरोनाको कहरका बेलामा रेडियो शिक्षण बिधिबाट सञ्चालित कक्षा प्रभावकारी

रुद्र सुवेदी १३ आश्विन २०७७, मंगलवार १६:२५
 

नेपालगञ्ज : नोबोल कोरोना भाइरसको जोखिमका कारण गत चैत्रदेखि शैक्षिक संस्था बन्द हुँदा अबरुद्ध भएको शिक्षण गतिविधि बाँकेमा बैकल्पिक माध्यामको प्रयोगबाट सुरुवात गर्दा प्रभावकारी भएको पाईएको छ ।

कोरोना संक्रमण फैलने त्रासका कारण गत शैक्षिक सत्रको अन्त्यदेखि बन्द रहेका शिक्षण संस्था खुल्न नसकेको अवस्थामा रेडियोमार्फत संचालन गरिएको नमुना कक्षा कार्यक्रमले रोकिएको पढाईलाई संचालनमा सहज बनाएको पाईएको हो ।

प्लान इन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगंन्ज, सामाजिक सचेतन सरोकार मंच (स्याक) नेपाल बाँके, सेभद चिल्ड्रेन, एसडिएफ बाँके, खजुरा गाउपालिका, जानकी गाउपालिका, बैजनाथ गाउपालिका, नरैनापुर गाउपालिका, डुडुवा गाउपालीका र नेपालगन्ज उपमहानगरपालिकाको संयुक्त साभेदारीमा तथा रेडियो कृष्णसार एफएमबाट रेडियो स्कुलिङ्ग कार्यक्रम बिगत ६ महिनादेखि संचालन रहेको छ ।

रेडियो कृष्णसारबाट आईतबारदेखि बिहीबारसम्म प्रशारण हुने नमूना कक्षामा प्रबिदेखि माबि तहसम्म बिषयका कक्षा संचालन हुदै आएको छ । साँझ ३ बजेदेखि ६ बजेसम्म माबि तहका बिभिन्नि बिषय शिक्षकहरुले कक्षा लिने गरेका छन् । कक्षा संचालनका लागि प्रत्येक सम्बन्धित बिषयका शिक्षकहरुको उपस्थित भएर आइबार नेपाली, सोमबार अंग्रेजी, मंगलबार अनिवार्य बिज्ञान, बुधबार अनिवार्य गणित र बिहीबार अनिवार्य सामाजिक बिषयमा ४ कक्षादेखि १० कक्षासम्मका कक्षा संचालन हुदै आएका छन् ।

कोरोना संक्रमणको त्रासको कारण आवहान गरिएको लकडाउनमा शैक्षिक संस्था बन्द हुँदा बाँकेमा एक कक्षादेखि माविसम्मका लागि संचालन गरिएको रेडियो नमूना कक्षाले सबै तहका बिद्यार्थीलाई घरमै बसेर अध्ययन गर्न सहयोग पु¥याएको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख राम सुरेश यादवले जानकारी दिए । उनले भने–‘शिक्षण संस्था बन्द रहेको अवस्थामा विद्यार्थीको शिक्षण सिकाईलाई असर नपरोस भनेर बैकल्पिक माध्यामको रुपमा रेडियो शिक्षालाई प्रयोगमा ल्याईएको छ । यो प्रभावकारी बन्दै गएको छ ।’

विद्यालय बन्द भएको अवस्थामा रेडियो शिक्षाले आफुहरुलाई पढाईमा मद्दत पुगेको खजुरा–३ धौलागिरीको नेपाल राष्ट्रिय आधारभुत बिद्यालयमा ७ कक्षामा अध्ययनरत सिमरन चौधरीले बताउछिन । उनले अध्ययनमा समस्या भएको अवस्थामा गृहकार्य हेर्न आउने शिक्षकहरुसंग सहयोग लिने गरेको बताउदै भनिन–‘ विद्यालयमा गएर पढेको जस्तो नभएपनि रेडियो कक्षा नियमित हुने गर्दा पढाईमा त्यति सारो असर परेको छैन । नबुझेको कुरा तत्काल सोध्न नमिले पनि गृहकार्य हेर्न आउने सर मेमसंग सोधेर स्पष्ट हुने गरेका छौ ।’

बिद्यालय जान नपाएपछि केही समय अध्ययन कार्य रोकिएको थियो तर रेडियो कार्यक्रम संचालन भएपछि घरमै बसेर अध्ययन कार्य अगाडी बढाउन सहयोग पुगेको जनकल्याण मावि बद्रीपुर कक्षा ९ कि विद्यार्थी सविना राना बताउछिन । ‘रेडियोबाट कक्षा सञ्चालन भएपछि रेडियो सुनेरै पढिरहेका छौ । विद्यालयमा जस्तो प्रत्यक्ष कक्षामा पढ्नु र घरमा बसेर रेडियो सुनेर पढाई गर्दा केही असहज भएपनि पढाईले निरन्तरता पाउदा फाईदा नै भएको छ’– उनले भनिन ।

बिद्यालयको पढाई पहिलैकै जस्तो संचालन हुन नसकेपछि बैकल्पिक कक्षाका रुपमा संचालन गरिएको रेडियो कक्षा शिक्षा कार्यक्रमले बिद्यार्थीलाई अध्ययनमा सक्रिय बनाएको ज्ञानोदय माबि खजुराका प्रधानाध्यापक ऋषिराम सापकोटाले बताए । उनले रेडियो शिक्षाले पारेको प्रभावको बारेमा लेखाजोखा हुुनु पर्ने कुरामा जोड दिए ।
लामो समयसम्म बन्द भएको बिद्यालय खुल्न नसकेको अवस्थामा बिद्यार्थीहरुको नियमित शिक्षण कार्य अवरुद्ध भएपछि संचालन गरिएको रेडियो कार्यक्रममार्फत बिद्यार्थीहरुलाई पढ्ने कार्यमा सहयोग पुगेको पाईएको जनकल्याण माविका प्रधानाध्यापक भिम बहादुर थापाले जानकारी दिए । उनले आफ्नो विद्यालयको क्षेत्रमा ईन्टरनेटको सुविधा नभएको अवस्थामा रेडियो कक्षा अत्यन्तै फदायी भएको दाबी गरे ।

रेडियोबाट संचालन हुने कक्षामार्फत बिद्यार्थीहरुले पढ्ने गरे नगरेको कुरा शिक्षकहरुबाट अनुगमन गराई उनीहरुमा समस्या भए समाधान गरिदिने गरेको नेपाल राष्ट्रिय आधारभुत बिद्यालय धौलागिरिका प्रअ रुद्र रानाभाटले बताउछन् ।


कोभिड–१९ को सन्त्रासमा बिद्यालय बन्द भएको अवस्थामा बैकल्पिक कक्षाका रुपमा रेडियो कक्षा संचालन गरिएको छ सबैको पहुँचमा रेडियो सहज भएको कारणले यसले धेरै बिद्यार्थीहरुलाई अध्ययनमा सहयोग पु¥याइरहेको आफुले पाएको ज्ञानोदय नमुना मावि खजुरा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर केसी बताउछन् ।

बिद्यालय बन्द भएको धेरै समय भएको अवस्थामा पढ्ने बानी हराउन थालेको बिद्यार्थीहरुमा रेडियोबाट कक्षा सञ्चालन हुँदा पढाईप्रति पुनः सक्रिय बनाएको जनकल्याण माविका शिक्षक पलबहादुर खासुमगरले बताए । शिक्षक खासुमगरको कुरामा सहमती जनाउदै अहिलेको अवस्थामा रेडियो शिक्षा प्रभावकारी भएको नेपाल राष्ट्रिय आधारभुत बिद्यालय धौलागिरिका शिक्षिका सिता कोईरालाले बताईन ।
बिद्यालय बन्द भएकाले घरमा भएका धेरैजसो बालबालिका खेलेर विताउने गर्दै आएका बालबालिकालाई रेडियोमा पढाउन थालेपछि कक्षा आउने समयमा पढिरहेको अवस्था रहेको अभिभावक बुद्धमाया खत्रीको भनाई छ ।

यसैगरी नेपाल राष्ट्रिय आधारभुत बिद्यालय धौलागिरि विद्यालय व्यवस्थापन समिति अध्यक्ष एकेन्द्र पुलामीले बैकल्पिक कक्षामा बिद्यार्थीले पढेन पढेको अनुगमन गर्न आफु पनि जाने गरेको र शिक्षकहरुलाई पनि टोलटोलमा पठाउने गरेको बताए । कोरोना संक्रमणको त्रासका कारण लकडाउन लम्बिदै गएपछि घरमै बसेका बिद्यार्थीलाई केन्द्रीत गरी गत बैशाख ७ गतेबाट शुरु भएको रेडियो कक्षा कार्यक्रमले बिद्यार्थीमा सहयोग पुगेको प्रतिक्रिया पाएको खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले बताउछन् ।

 उनले रेडियो शिक्षाले लक्षित क्षेत्रका सबै बालबालिकालई समेट्ने र सबैको सजिलै पहुँच भएको कारण यसको प्रभावकारिता रहेको पाईएको बताए । उनले भने–‘ शैक्षिक गतिविधि शुन्य रहेको अवस्थामा रेडियो शिक्षा कार्यक्रमले बालबालिकामा पठन शैलिको विकास भएको पाएका छौ ।’

खजुरा गाउपालिकाका उपाध्यक्ष एकमाया विकले कोरोना संक्रमणबाट जोगिदै बन्दाबन्दीको समयमा गाउँ–गाउँमा सबैको पहुँचमा हुने भनेकै रेडियो भएकोले धेरैले सहजरुपमा उपयोग गर्नसक्ने रेडियोबाट कक्षा संचालन गरिएको बताईन । ‘रेडियो कक्षालाई पालिकाको शिक्षा शाखाले बिद्यार्थीहरुले घरमा पढे नपढेको र अभिभावकसंग भेटघाट गरी लेखाजोखा समेत राख्न समेत शिक्षकहरुमार्फत जारी राखेकाले धेरैले रेडियोमार्फत अध्ययन गर्ने गरिरहेको पाइएको छ’–उनले भनिन ।

कोरोना भाइरसको प्रकोपका देखिएपछि गत चैत्र १० गतेबाट नेपालका सामुदायिक तथा नीजी बिद्यालयहरु संचालन हुन सकेका छैनन् । बिद्यालय बन्द भएपछि बिद्यार्थीहरु अध्ययन गर्न पाउने अवसरबाट बन्चित भएको अवस्थामा उनीहरुको पढाई सुचारु राख्न रेडियो शिक्षा कार्यक्रम सञ्चालन गर्नमा साझेदारी गरिएको स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डेले बताए ।

उनले बिद्यार्थीहरुको पढाई अबरुद्ध भएका कारण अध्ययन गर्ने क्रम नरोकियोस भनेर शुरु गरिएको रेडियो स्कुल नमूना कक्षा शिक्षा कार्यक्रम प्रभावकारी रहेको पाईएको बताए ।

बाँकेमा २०७६ को तथ्याँक अनुसार सामुदायिक तथा नीजि बिद्यालयका गरी करिब एक लाख पचास हजार बिद्यार्थीहरु अहिले बिद्यालय जान पाएका छैनन् । सरकारले लकडाउन अन्त्य भएपछि मात्रै संचालन गर्ने जनाए पनि प्रकारको रेडियो जस्तै अन्य मात्रध्यमबाट घरमा रहदा पनि पढ्ने, लेख्ने कुरालाई निरन्तरता भने दिन सकिन्छ । राजधानी दैनिकबाट

 

Next Post

मंगलवार बाँकेमा १३ संक्रमित थपिए

१३ आश्विन २०७७, मंगलवार १६:२५
नेपालगञ्ज : बाँकेको दुईवटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको परीक्षणमा बाँकेका ११ सहित २१ जना र बागेश्वरी डाइग्नोष्टि ल्याबको परीक्षणमा बाँकेका २ जना गरी २३ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । […]