‘कोरोनालाई हल्का रुपले नलिउ यो खतरनाक छ’

सदरलाइन संवाददाता ८ आश्विन २०७७, बिहीबार १२:३६
 


 

नेपालगञ्ज  : नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दलगायतका १९ जना कोरोना मुक्त भई बिहिवार बिहान डिस्चार्ज भएर घर फर्केका छन ।

गत भदौ २५ गते कोरोना संक्रमित भएका चन्द १४ दिनसम्म आइसोलेसनमा बसेर बिहीबार १५ औं दिनमा कोरोना मुक्त भई घर फर्केका हुन । उनि सहित बाँकेबाट भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरी लगायत १९ जना डिस्चार्ज भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बिहिबार ४ महिला र १५ पुरुष गरी १९ जना कोरोना मुक्त भएर डिस्चार्ज भएको जानकारी दिए ।

आईसोलेशनबाट डिस्चार्ज भएर घर फर्कने क्रममा नेपालगञ्ज उपमाहनगरका स्वास्थ्य शाखा प्रमुख चन्दले कोरोनालाई हल्का रुपमा नलिन सबैमा आग्रह गर्दै भने–‘कोरोनालाई सामान्य रुपमा नलिऔं, यो खतरनाक भाइरस हो । यसले स्वास्थ्यमा गम्भिर असर पार्छ र ज्यान समेत जान्छ त्यसकारण रुघाखोकी र ज्वरो सहितको चिन्ह र लक्षण देखिनासाथ तुरुन्त पिसिआर जाँच गराऔं ।’

उनले सामाजिक दुरीको कायम, मास्क, सेनिटाइजर नभए साबुन पानीले हात धुने जस्ता स्वास्थ्य मापदण्ड सबैले अनिबार्य रुपमा पालना गर्नुपर्ने कुरामा जोदिए । आफु मुटु, सुगर, थाइराइड लगायतको रोगी भएर पनि कोरोनासंगको लडाइँ जितेको स्मरण गर्दै उनले सम्पुर्ण स्वास्थ्य मापदण्ड साबधानीका साथ अपनाएर जनताको स्वास्थ्य सेवामा खटिदा खटिदै आफुलाई कोरोना संक्रमण भएको उनले बताए ।

चन्द नेपालमा कोरोना कहर शुरु भएदेखि नै बाँकेमा कोरोना नियन्त्रण तथा रोकथामका लागि अग्रपंक्तिमा रहेर खटिदै आएका स्वास्थ्यकर्मी हुन । चन्द स्वास्थ्यकर्मी संघका केन्द्रीय उपाध्यक्ष पनि हुन ।

  डिस्चार्ज भएर घर फर्कन लागेका चन्दको स्वागतका लागि प्रेस संगठन नेपालका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ बाँकेका  निवर्तमान अध्यक्ष रुद्र सुवेदी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ५ नम्बर प्रदेशका महासचिव गजेन्द्र गुरुङ,  प्रेस  संगठन  नेपालका  जिल्ला कार्य समिति सदस्य खम्ब पुन, नेपालगञ्ज उपमहानगरपालिकाका कर्मचारी लगायत उनि बसेको आइसोलेसन केन्द्र होटल सिटी प्यालेस पुगेका थिए ।

Next Post

बाँकेमा थप ३२ जनामा कोरोना पुष्टि

८ आश्विन २०७७, बिहीबार १२:३६
नेपलागञ्ज : बाँकेस्थित तीनवटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा बिहीवार ३२ जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पतालको परीक्षणमा १२, मेडिकल कलेज कोहलपुरको परीक्षणमा १८ र बागेश्वरी ल्याबको परीक्षणमा २ जनामा कोरोना पुष्टि भएको हो । भेरी अस्पतालले १ सय ३१ जनाको परीक्षण गर्दा १२ जनाको रिपोर्ट पोजिटिभ आएको हो […]