नेपालगञ्ज : कोभिड–१९ को महामारीको बेलामा सीमाक्षेत्र शिल हुँदा अबैध बाटो प्रयोग गरी मध्य रातमा भारत जानखोज्न ५४ जनालाई खडैचाको सीमाक्षेत्रबाट उद्दार गरिएको हो । उनीहरुलाई दुईजनाले सो कार्यमा सहजिकरण गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले अबैध बाटो प्रयोग गरी भारत प्रवेश गर्न खोज्ने ५ महिला सहित ५४ लाई बाँके डुडुवा गाउपालिकाको खडैचाबाट उद्दार गरेको छ ।उनीहरु रुकुम, रोल्का, बाँके, दाङ्ग, बर्दियालगायतका जिल्लाका रहेका छन् ।
भारतको हिमाचल प्रदेशमा रोजगारी गर्न जानलागेको बताउने उनीहरुले ठेकेदारलाई भारत पठाएवापत ६ हजार भारतीय रुपैयाँसमेत दिनुपर्ने शर्तमा अबैध नाका प्रयोग गरेर जान लागेको बेला आफुहरुलाई प्रहरीले उद्दार गरेको उद्दार गरेका एकजनाले बताए ।
प्रहरीले भारतको सिमला जाने उद्देश्यले हिडेका उनीहरुलाई गएराती साढेबाह्र बजे उद्दार गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख ओमबहादुर रानाले जानकारी दिए । प्रहरीले उनीहरु सबैलाई अबैध बाटोबाट भारत लैजाने दुई जनालाई समेत नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको जनाएको छ ।
बाँके प्रहरीले नियन्त्रणमा लिएका दुईनजा मध्ये एकजना अमर गन्र्धव गाडि चालक भएको र सेराज अहमद राईले नेपालगन्जबाट अबैध बाटो हुँदै भारत प्रवेश गराउने कार्यमा संलग्न रहेको जनाएको छ ।
प्रहरीले उद्दार गरेका उनीहरुलाई विहानको खाना माडवाडी सेवा समितिले खुवाएर गन्तब्यतिर पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हृदेश सापकोटाले जनाकारी दिए ।
कोभिड–१९ को महामारीको कारण सीमा शिल भएको कारण सिघा बाटो उनीहरु जान नपाउने भएपछि दलालमार्फत ६ हजार भारतीय तिर्ने गरेर जोखिम मोलेर भारत जान लागेको बेलामा प्रहरीले उद्दार गरेको हो ।