सिन्धुपाल्चोकमा भीषण पहिरो, २३ जना बेपत्ता

; २८ भाद्र २०७७, आईतवार ०९:१३
 

काठमाण्डौ : सिन्धुपाल्चोकको बाह्रविसेमा भिरखर्क, डाँडागाउँ, नागपूजे, जुगलसहितका स्थानमा पहिरो जाँदा घरहरु पुरिएका छन् । लगातारको वर्षापछि आइतवार बिहान गएको पहिरोले घरहरु पुरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले पहिरोको जानकारी आएको तर क्षतिको विवरण भने नआएको बताए । घटनास्थलमा सुरक्षा टोली पुगेको प्रहरीले जनाएको छ ।

नागपूजे पहिरोले ९ घर पुरिएको जानकारी आएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

अरु ठाउँमा पनि घर बगाएको र मानिसहरु बेपत्ता भएको जानकारी आए पनि यकिन नभएको उनले बताए। पहिरो गएका स्थानमा आर्मी, प्रहरी, सशस्त्र परिचालन भएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए ।


तर बाह्रविसे नगरपालिका–७ को भिरखर्कबाट आएको पहिरोले भिरखर्कका तीन घर बगाएको र ६ जना बेपत्ता भएको मेयर निमफुन्जो शेर्पाले जानकारी दिए ।

सो पहिरोले नागपूजेमा ९ घर बगाउँदा १७ जना बेपत्ता भएको र एकजनाको शव फेला परेको उनले बताए । यस्तै नागपूजेमा एकजना घाइते भएको जानकारी दिएका मेयर शेर्पाले आफू घटनास्थल पुग्दै गरेको बताए ।

सिन्धुपाल्चोकको लिदीमा गएका साउन ३० गते गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो । दुईजना अझै बेपत्ता छन् ।

Next Post

कालिकोटका बाढि पीडितलाई हातैमा प्लानले पुरायो नगदै राहात

२८ भाद्र २०७७, आईतवार ०९:१३
विश्वनाथ सिम्खाडा / कालिकोट , निरन्तरको अविरल वर्षाले क्षति ब्योहोरेका कालिकोटका बाढि र पहिरो पीडितहरुले पहिलो पटक नगद राहत पाएका छन । गत साउन ७ गतेदेखि आएको निरन्तर वर्षाका कारण प्रभाबित घरपरिवारहरुले प्लान नेपालको आर्थिक सहयोग साझेदार संस्था सादा नेपाल, हुरेन्डेक नेपाल, र किर्डाक नेपालको सहजिकरणमा बिभिन्न चरणमा राहत पाएका […]