तीजको आज दर खाने दिन

४ भाद्र २०७७, बिहीबार १४:२६
 

नेपालगञ्ज : महिलाहरुको महान चाड हरितालिका तीजको अघिल्लो दिन बिहीवार दर खाइँदै छ । भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने परम्परा छ ।

दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन छ । दर खाने दिनको भोलिपल्ट तीज पर्व मनाईंछ । तीजको दिन निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएका खानेकुरा खाने चलन रहेको बताइन्छ ।

तर नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतमले भने शास्त्रमा तीजमा निराहार व्रत बस्ने विधान नरहेको जानकारी दिए । दरखाने समय र स्थान ठाउँ अनुसार फरक–फरक रहेको छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ ।


परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ ।

तर यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण सामूहिक दर खाने र तीज मनाउन सरकारले रोक लगाएको छ । आफ्ना परिवारका सदस्यहरुसँग घरमै बसेर दर खान, तीज मनाउन र पूजापाठ गर्न सरकारले आग्रह गरेको छ ।

Next Post

बाँकेमा बिहीवार थपिए २४ कोरोना संक्रमित

४ भाद्र २०७७, बिहीबार १४:२६
नेपालगञ्ज : बाँकेमा बिहीवार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको । भेरी अस्पताल नेपालगञ्जमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणबाट जिल्लाका बिभिन्न पालिकाका गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार बिहीवार नेपालगञ्ज उपमहानगरपालिकामा १ जना, कोहलपुर नगरपालिकामा १७ र जानकी गाउँपालिकामा […]