सदरलाइनडटकम,
नेपालगञ्ज : कोरोना भाईरस संक्रमणका कारण नेपालमा ज्यान गुमाउने सँख्या १ सय २ पुगेको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो चार महिनाको अवधिमा १ सय २ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका हुन् । शनिवार थप तीन जनाको मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या १ सय २ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कपिलवस्तु, पर्सा र धनुषाका एकएक जना गरी थप ३ जनाको मृत्यु भएको हो । गौतमका अनुसार कपिलवस्तुको मायादेवी ७ का ४० वर्षीय पुरुषको साउन ३१ गते उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
यस्तै पर्साको विरगञ्ज महानगरपालिका १२ का ६० वर्षीय पुरुषको साउन ३० गते नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । धनुषाको जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुषको साउन २९ गते कोरोनाबाट मृत्यु भएको हो ।
प्रदेश नम्बर १ मा ९ जना, प्रदेश २ मा ४४ जना, बागमती प्रदेशमा १८ जना र गण्डकी प्रदेशमा ६ जनाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै प्रदेश ५ मा १३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ८ जनाको मृत्यु भएको छ ।
जसमा ८० जना पुरुष र २२ जना महिला रहेका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले देशभर ४६८ जना संक्रमित थपिएको जानकारी दिए भने सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २६ हजार १९ पुगेको छ ।