काठमाडौं : नेपाली भूभाग लिपूलेक कालापानीसहित समेटेर जारी गरिएको नक्सापछिको नेपाल–भारतबीचको संवादहिनता शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोनबार्ता मार्फत टुटेको छ । दुई प्रधानमन्त्रीबीच शनिवार बिहान करिब १० मिनेट टेलिफोन कुराकानी भएको थियो ।
भारतको ७४औँ स्वतन्त्रता दिवसका सन्दर्भमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई टेलिफोन गरी बधाई दिएको प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनले दुई प्रधानमन्त्रीबीचका कुराकानीका बाँकी अंशलाई परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर सार्वजनिक गर्ने भएको बताए ।
नेपाल सरकारले कालापानी, लिम्पियाधुरासहित मिचिएको भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि दुई प्रधानमन्त्रीबीच संवाद टुटेको थियो । टेलिफोन कुराकानीमा भने नेपालका समसामयिक अन्य विषय समेत उठेको थियो । भारतमा कोरोनाले चर्को आक्रमण गरेको सन्दर्भमा संयमता अपनाई कोरोनाविरुद्ध लड्नुपर्ने धारणा दुई प्रधानमन्त्रीबीच भएको थियो ।
गत अप्रिल १० मा दुई प्रधानमन्त्रीबीच भएको टेलिफोन कुराकानीमा समेत विशेषतः कोरोना रोकथाम र जोगिने विषयमा कुराकानी भएको थियो । कोरोना भाइरसकाविरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने र लकडाउनका कारण एक अर्काका मुलुकमा रोकिएका नागरिकलाई कसरी राम्रो हेरचाह गर्ने विषय उतिबेला उठेको थियो ।
कोरोना महामारीका बीच भारतले तत्कालीन ब्रिटिस शासनबाट स्वतन्त्रता पाएको खुशियालीमा आज ७४ औँ स्वतन्त्रता दिवस मनाइरहेको छ । सन् १९४७ अगस्ट १५ मा भारतीय जनताले तत्कालिन ब्रिटिस शासनबाट स्वतन्त्रता प्राप्त गरेका थिए ।
यही अवसरमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई सामाजिक सञ्जालमा समेत शुभकामना दिएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्वीटर मार्फत आज शुभकामना दिएका हुन ।
ट्वीटरमा प्रधानमनत्री ओलीले लेख्छन् ‘बधाई तथा शुभकामना, प्रधानमन्त्री नरेन्द्र मोदीजी, भारतको ७४ औँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दछु ।’ खुलानेपालबाट