सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा कोरोना परीक्षणका लागि स्वाब संकलन गर्दा प्रयोग हुने भिटिएम किटको अभाव देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले स्वास्थ्य कार्यालयबाट प्रर्याप्त मात्रामा भिटिएम प्राप्त नभएपछि उपमहानगरपालिका आफैले खरिद गरि स्वाब संकलन गरेको जानकारी दिए ।
उपमहानगरपालिकाले वडाध्यक्षसहित आठजना कर्मचारीको घरपरिवारका सदस्य र उनीहरुको सम्पर्कमा रहेका करीब दुईसय जनालाई स्वाब सङ्कलनका लागि मङ्गलवार कार्यालयमा बोलाएकोमा स्वास्थ्य कार्यालय बाँकेबाट ८० थान मात्रै भिटिएम उपलब्ध भएको थियो ।
उपमहानगरपालिकाले १ सय २० किट भिटिएम आफैले खरिद गरि सङ्क्रमित ब्यक्तिका घर परिवारका सदस्य र उनीहरुको सम्पर्कका आएका ब्यक्तिहरुको स्वाब सङ्कलन गरिएको जनाएको छ । मंगलवार जनप्रतिनिधी, कर्मचारी र कोरोना संक्रमण देखिएका ब्यक्तिका घरपरिवारका सदस्य गरि १ सय ९८ जनाको स्वाब संकलन गरिएको छ ।