आज नागको फोटो टाँसेर नागपञ्चमी मनाईदै

१० श्रावण २०७७, शनिबार ११:३३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : आज (शनिबार) श्रावण शुक्ल पञ्चमीका दिन नाग पञ्चमी हिन्दू परम्परा अनुसार नागको पूजा अर्चना गरी घरको मूलढोकामा नागको फोटो टाँसेर नाग पञ्चमी मनाइँदैछ ।

वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट जोगिन सकिन्छ भन्ने धार्मिक विश्वासका आधारमा परापूर्वकाल देखि नै नाग पञ्चमी मनाईदै आईएको छ ।
नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरु भएको हो । वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नाग पूजाका लागि प्रसिद्ध मानिन्छ ।

प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाइ गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको हो ।

नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शैय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवानलाई नागका रुपमा मान्ने गरिएको हो ।

प्रथम पूजाको अधिकार पाएका भगवान् गणेशको एक हातमा नाग छ । भगवान् विष्णुको अवतारका रुपमा जन्म लिएका श्रीरामका भाई लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रुपमा मानिन्छ ।

दुवैले दुर्जनको नाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको अवतारका रुपमा जन्म लिएका श्रीराम र श्रीकृष्णलाई सहयोग गर्न जन्म लिएको कथा विभिन्न पुराणमा उल्लेख गरिएको छ ।


श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका बुद्धको मूर्तिको शिरमा मुकुटाकारका रुपमा सर्पको आकृति रहेको हुन्छ । मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ । जैन तीर्थङ्करहरुको शिरमा समेत सर्पाकार मुकुट हुन्छ ।

पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नागकन्यासँग विवाह गरेको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख गरिएको छ । लक्ष्मीको वास त्यो घरमा हुन्छ जुन घरमा नागको पूजा हुन्छ भन्ने मान्यता हाम्रो समाजमा सनातनदेखि छ ।

संसारमा सबैभन्दा मूल्यवान् रहेको मणिलाई नागले नै शिरमा धारण गरेका हुन्छन् । श्रीखण्डको सुगन्ध र सङ्गीत नागलाई खुब मन पर्छ । गर्मीमा दुलोभित्र बस्ने नाग श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन वर्षात्को शीतलताका कारण बाहिर निस्कने मान्यतासमेत छ ।

नागका बाह्र नाम भएपनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ ।

आज काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेषरुपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका परिकार प्रसाद चढाउने गरिन्छ । वैज्ञानिक रुपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्प लगायतका जीवले शोषण गरी मानव लगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ ।

Next Post

बाँके एन्फाद्वारा खेलाडीलाई राहत वितरण

१० श्रावण २०७७, शनिबार ११:३३
सदरलाइनडटकम, नेपालगञ्ज :  कोभिड–१९ को कारणले समस्यामा परेका खेलाडीलाई बाँके जिल्ला फुटबल संघले खेलाडीलाई राहत वितरण गरेको छ । बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले अखिल नेपाल फुटबल संघ (एन्फा) ले उपलब्ध गराएको राहत वितरण गरिएको बताए । उनले भने–‘एन्फाले ७५ हजार पठाएको थियो । बाँके जिल्ला फुटबल संघले […]